२०८२ कार्तिक ३, सोमबार
चतुर्भुज गौतम (सी.जी) “निर्मलश्री”-
आँखाको आशु !आँखामै समुद्र बनाउन र
आँखाको डीलमै
सुकाउन सक्ने क्षमता छ मेरो
हाँसो देखेर दुःख छैन तँसँग
कहिले नभन्नु,
मौन देखिन्छ सँधै भनेर
एक्लो छ, दु:खी छ कहिले
नसोच्नु
मुस्कुराउनुभन्दा मौनतामा
हराउनु
गहिरो पहिचान हो मेरो
यथार्थमा !
म मौनताको अनुयायी हुँ
“मौनता ! शब्द नै प्रिय” लाग्छ मलाई ……….
..
कसैले !
सोध्छन मलाई
धेरैले बुझ्न खोज्छन्
केहीले थाहा नपाउने गरि
जासुसी गर्न खोज्छ्न्
र कोही हाकाहाकी सोध्ने गर्छन्-
“तिमीमा !
मुस्कुराहट कम
मौनता बढी देखिन्छ किन ?”
फिस्स हाँसिदिन्छु
के भन्नू र खै ?
के जवाफ दिनु र खै ?
तैपनि जानि नजानी
भनिदिन्छु- कल्पनाको संसारमा
देखावटी मुस्कुराहट दिएर
रमाउनु भन्दा
मौनताको अनुपम र
अद्वितीय संसारमा
हराउनु नै वेश छ
यसर्थ कि !
मुस्कुराहट केवल चञ्चलता हो
मुस्कुराउनु केवल कल्पना हो
मुस्कुराउनु स्वार्थीपनको
खरिददारी हो
यसको विपरित
मौनता प्रेमिल समर्पण हो
मौनता गाम्भिर्यता हो
मौनता सहजता हो सरलता हो
मौनता निस्प्राण हो
त्यसैले त
कल्पनामा रमाएर
मुस्कुराउनुभन्दा
मौनताको रहर पिएर
समर्पणमा बस्नु नै उत्तम
लाग्छ मलाई
यथार्थमा
मौनता ! अक्षरमा मात्र हैन
“मौनता ! शब्द नै प्रिय”
लाग्छ मलाई ………
..
..
म !
चुपचाप, शान्त एवम्
स्थीर भएर
मौनतामा बसिरहेको छु भने
कृपया ! तिमी
मुस्कानको आँधिबेहेरी वा
झण्झावात लिएर नआईदिनु
“अर्धमूदित कल्पना र
मौनताको प्रतिध्वनि” को
आल्हादित यथार्थमा रमाउने
मन र मानसिकतामा
तिम्रा कुनै बडवानलहरुले
डढेलो लगाउन सक्दैनन्
मेरा मन, मस्तिष्क र
विचारहरुलाई
“मौनता ! शब्द नै प्रिय”
लाग्ने मान्छेलाई मुस्कुराहट केवल
कल्पनामात्र लाग्ने गर्छ
क्षणभङ्गुर लाग्ने गर्छ
हेर्ने गर
आदिम अनादिकालेदेखि
वर्तमान सह अस्तित्वको
खोजीसम्म
मौनता नै सबैमा प्रिय छ
भगवानहरु मौनतामै
रमाएका हुन्छन्
ऋषिमुनिहरु मौनतामा नै
सिद्धत्व प्राप्त गर्छन्
सिद्दार्थ गौतम मौनताले नै
बुद्ध भएका हुन्
आदिम इतिहासदेखि
वर्तमानसम्म
कोरा कल्पना गर्ने गरिएको
भविष्यसम्म
मौनता नै विजेता भैरहेको हुन्छ
त्यसैले त मौनता मन पर्छ
“मौनता ! शब्द नै प्रिय” लाग्छ मलाई………
टीकापुर १, कैलाली हाल : काठमाडौ
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे