२०८३ श्रावण ४, सोमबार
— जय बहादुर सिंह, जाजरकोट
“एक प्रहरीको मौनता भित्र हजारौं नबोलेका पीडाहरू लुकेका हुन्छन्”

धुवाँले आकाश छोपिएको त्यो समय केवल वातावरणको अँध्यारो थिएन, त्यो मानवीय संवेदनाको पनि धुम्मिएको क्षण थियो। सास लिनु मात्र शारीरिक प्रक्रिया रहेन, त्यो एक प्रकारको संघर्ष बनेको थियो। त्यहीँ, त्यो अव्यवस्थित, भय र आक्रोशले भरिएको परिवेशमा एउटा मान्छे उभिएको थियो। ऊ शान्त देखिन्थ्यो, स्थिर देखिन्थ्यो, तर भित्रभित्रै ऊ टुक्रिँदै गएको थियो। ऊ कुनै सामान्य दर्शक थिएन, ऊ जिम्मेवारीले बाँधिएको थियो। उसको शरीरमा बर्दी थियो, तर त्यो बर्दीभित्र एकदमै कोमल मन लुकेको थियो।
उसले आफ्नो व्यक्तिगत जीवनलाई धेरै अघिदेखि नै कर्तव्यको वेदीमा चढाइसकेको थियो। उसका सपनाहरू थिए, सामान्य मान्छेजस्तै। घर बनाउने, परिवारसँग समय बिताउने, आमाको काखमा टाउको राखेर थकान बिर्सने। तर समयले उसलाई फरक बाटोमा ल्यायो। उसले आफ्ना इच्छाहरूलाई खरानी बनायो, आफ्ना चाहनाहरूलाई चुपचाप जलायो। त्यो जलनले उसलाई समाप्त पारेन, बरु अझ बलियो बनायो। ऊ बारम्बार ढल्यो, तर हरेक पटक फेरि उठ्यो, आफ्नै पीडालाई टकटकाउँदै, नयाँ साहसका साथ ।
सडकहरूमा बगेको रगत, टुटेका सपनाहरू, चिच्याएका आवाजहरू, यी सबै उसका लागि दृश्य मात्र थिएनन्। ती उसका स्मृतिमा गहिरो गरी कोरिएका घाउ थिए। मानिसहरू बिस्तारै आफ्नो जीवनमा फर्किए, घाउहरू समयसँगै पुरिँदै गए, तर उसका लागि ती क्षणहरू कहिल्यै पुराना भएनन्। ती आवाजहरू अझै पनि उसका कानमा गुञ्जिरहन्थे, ती दृश्यहरू अझै पनि उसको आँखामा ताजै थिए।
सबैभन्दा ठूलो पीडा त्यतिबेला हुन्थ्यो, जब उसले आफ्नो भावनालाई दबाएर कर्तव्य निभाउनु पर्थ्यो। बर्दीले उसको शरीर ढाक्थ्यो, तर मनलाई ढाक्न सक्दैनथ्यो। त्यो मनभित्र घरको याद थियो, परिवारको माया थियो, सन्तानको निर्दोष मुस्कान थियो। कहिलेकाहीँ ऊ निकै थाक्थ्यो। तर त्यो थकान देखाउने अधिकार उसलाई थिएन। ऊ रातको अँध्यारोमा केही क्षण आँखा चिम्लेर आफूलाई सम्हाल्थ्यो, अनि फेरि उभिन्थ्यो, उही दृढताका साथ।
विडम्बना झन् गहिरो थियो। जसले हिजो उसमाथि ढुङ्गा प्रहार गरेका थिए, आज तिनैको सुरक्षाका लागि ऊ उभिनुपर्ने। जसले उसलाई घृणाले हेरे, आज तिनैका लागि ढाल बन्नुपर्ने। त्यो केवल कर्तव्य मात्र थिएन, त्यो आत्मबलको कठोर परीक्षा थियो। मन दुख्थ्यो, तर ऊ चुप लाग्थ्यो। किनकि उसले आफ्नो व्यक्तिगत भावनाभन्दा समाजको सुरक्षालाई ठूलो ठानेको थियो।
समाजले उसलाई प्रायः कठोर आँखाले हेर्छ। कहिलेकाहीँ उसको निर्णयमाथि प्रश्न उठाउँछ, कहिलेकाहीँ उसलाई दोष दिन्छ। तर त्यो कठोरता केवल बाहिरी आवरण हो भन्ने कुरा बुझ्न सक्दैन। त्यो आवरणभित्र एउटा संवेदनशील आत्मा हुन्छ, जसले अरूको दुःखमा आफूलाई बिर्सिन्छ। उसले अरूको जीवन बचाउन आफ्नो डर दबाउँछ, अरूको आँसु पुछ्न आफ्नै आँसु रोक्छ।
उसको जीवनमा व्यक्तिगत क्षणहरू धेरै कम हुन्छन्। घरमा कोही बिरामी हुँदा पनि, उसले ड्युटी छोड्न पाउँदैन। आफ्नै खुसीहरू, चाडपर्व, उत्सवहरू, सबै उसले कर्तव्यका लागि त्याग गरेको हुन्छ। उसको जीवन एउटा निरन्तर संघर्ष हो, जहाँ उसको व्यक्तिगत अस्तित्वभन्दा जिम्मेवारी ठूलो हुन्छ।
तर यो कथा केवल पीडाको कथा होइन। यो सहनशीलताको कथा हो, त्यागको कथा हो, मानवताको कथा हो। यो एउटा यस्तो मनको कथा हो, जसले बारम्बार चोट खाँदा पनि प्रेम गर्न छाड्दैन। जसले निराशाको बीचमा पनि आशाको दीप बालिराख्छ ।
अब समय आएको छ, उसलाई बुझ्ने। उसको मौन संघर्षलाई महसुस गर्ने। घाउहरू कोट्याएर होइन, मल्हम लगाएर समाज अघि बढ्नुपर्छ। बर्दीलाई डरको प्रतीक होइन, भरोसाको प्रतीक बनाउनुपर्छ। त्यो मान्छेलाई चिन्नुपर्छ, जसले आफ्नो पीडा लुकाएर अरूको सुरक्षा सुनिश्चित गरिरहेको छ।
खरानीबाट उठेको त्यो कोमल इतिहासलाई सम्मान गर्न सके मात्र हाम्रो भविष्य उज्यालो बन्न सक्छ। किनकि बर्दीभित्रको मान्छे कुनै पत्थर होइन, ऊ पनि एउटा मुटु हो। त्यो मुटु दुख्छ, सम्झन्छ, र अझै पनि प्रेम गर्न जान्दछ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे