२०८३ श्रावण ३, आईतबार
श्रीधर लामिछाने –
यस पटकको अमेरिका यात्रा छोटो थियो। जम्मा जम्मी तिन हप्ताको। अमेरिका पुगे पछी आफ्नो परिवार बाहेक मलाई केहि साथीभाई भेट्न मन लाग्छ ति मध्ये हुनुहुन्छ रबिन्द्र दाई। उहाँलाई फेसबुक म्यासेन्जरको माध्यमबाट फोन गरें। फोनको उत्तरमा दाइ बोल्नु भयो। पारिवारिक कुशल आदान प्रदान भयो। अनि उहाँले भन्नु भयो यसपटक खुशीको एउटा खबर छ।

मैले अनुमान लगाएँ भाउजुको कथा संग्रह प्रकाशित भयो ? उहाँले सोध्नु भो कसरि पत्ता लगाउनु भयो ? रबिन्द्र दाइको प्रश्न थियो। हाम्रो करिव ६/७ वर्षको मैत्री सम्बन्ध पछी मैले रबिन्द्र दाइको चित्र र कबिता अनि भाउजुको कथा पढ्ने मौका बेला बेला पाएको थिएँ। मैले भन्ने गर्थें अब पुस्तकको रुपमा समेट्नु पर्छ भन्ने कुराको वकालत गर्दै थिएँ।
रबिन्द्र दाइको प्रश्नमा मेरो जवाफ थियो भाउजुले लेख्नु भएको कथा निस्कनु पर्ने धेरै अगाडी हो नि तर समय नआइ केहि हुँदैन भने जस्तो भयो।अनि भाउजु पनि मेसेन्जर फोनमा देखिनु भयो। हामी वीच पनि नमस्कार आदान प्रदान भयो। अनि भाउजुको उत्साहित मन र मुहार देख्दा खुशी छचल्किदै थियो। भाउजुको खुशी देख्दा मन नै आनन्दित भयो। भाउजुले पक्का गर्नु भयो कि कथा संग्रह “विस्मृति” प्रकाशित भएर पनि विमोचन भै सक्यो। मेरो पनि मन अत्यन्त हर्षित भयो। राबिन्द्र दाइ र भाउजुले कथा संग्रह विमोचन हुँदाको समारोह र मानिसको सहभागिता उत्सवीय माहोल पालैपालो बताउनु भयो।
त्यसै बखत म भारतीय कथाकार लता तेजेश्वर ‘रेनुका’ द्वारा लिखित कथा संग्रह “संस्कार एबम संकल्प” पढ्दै थिएँ।
बडा राम्रा खंदिला शब्द तर सरल !! उनका ६७ वटा कथा हरेकले समाजको विद्यमान परिस्थिति मात्र बताउदैनन् बरु समाधानका उपाय पनि राम्रो संग प्रस्तुत गर्दछन ।
रजनी भाउजुको कथा संग्रहको नाम सुन्दै आकर्षक र कहिले पढौं भएको थियो। त्यसैले सोधे मेरो भाग पनि पुस्तक छ नि ? किन नहुनु हजुर कता हुनुहुन्छ हामी त्यतै पठाउला भन्नु भयो एक स्वरले रबिन्द्र दाइ र भाउजुले।
त्यस पछी करिव एकहप्तामा मेरो ढोकामा किताब आइपुग्यो। पुस्तकको नाम जस्तै आवरण सुन्दर रहेछ। नहोस पनि किन रविन्द्र दाइ स्वयमको सिर्जनाको कलाकारिता थियो त्यो आवरण पृष्ठमा।
लामो समय देखि विदेशी भूमिमा रहेर पनि नेपाली समाज र तिनका बारे साहित्य मार्फत कलम चलाएर सेवा गर्नु भाउजुको काम प्रसंशनीय छ ।
फोटोग्राफी जस्तै रबिन्द्र दाइको छुट्टै पहिचान छ चित्रकलाको क्षेत्रमा। उहाँको कोठामा सजिएको चित्रकला देख्दा नै त्यो कुरा प्रष्ट हुन्छ। यस्तो राम्रो कथा संग्रह तयार गर्ने भाउजुको कथाकारिता साँच्चै नै प्रसंसनिय छ।
यसो सोचें अहिले कथा पढ्न शुरु गर्नु भन्दा अस्ट्रेलिया फर्कने क्रममा लामो उडानमा पढ्दा राम्रो होला भन्ने लागेर किताव जतनले आफ्नो झोलामा राखें।
अस्ट्रेलिया फर्के पछी फुर्सदको समय निकाल्दै विस्मृति मा दौडन थालें। पहिले भन्दा आजकाल म धिमा गतिमा पढ्छु। यौटा कथा एकपटकमा एक वसाइमा पढ्छु। त्यसरी पढदा मज्जा लाग्छ त्यसै भित्र पस्न सकिन्छ। हरेक पत्र संग वार्तालाप गर्न सकिन्छ भन्ने मेरो अनुभूति छ।
सुन्दर साजसज्जा भित्रका १७० पेजले आफ्नो जीवनको अरोहअवरोह पनि सम्झाउने गर्छन। ४० वटा कथामा समेटिएको यो संग्रहले तत्कालिन समाजको युवाहरुको चरित्र पेस गरेको छ। बडो शालीन र स्निग्धता को उदाहरण स्वरूप देखेको छु यो पुस्तकलाई।
कुनै कुनै ठाउमा धोको पुग्ने गरि अझ विस्तृतीकरण खोज्छन मेरा आँखा। अनि समाधान पनि दिएको भए हुन्त्यो कि झैं पनि लाग्छ। तर फेरी कथा भनेको त समाजलाई चिहाउने आँखीझ्याल मात्र हो भन्ने सम्झन्छु।
समग्रमा व्यस्तताको बाबजुद पनि रजनी भाउजुको कथारूपी माला भविस्यमा अझ अनुभवले खारिएको सशक्तताको साथ् आउनेछ भन्नेमा विश्वस्त छु। यस्तो राम्रो सामाजिक कथासंग्रह समाजलाई दिनु भएकोमा भाउजुलाई धेरै धेरै बधाई र धन्यवाद। : हाल अष्ट्रेलिया
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे