गैँडाकोट- गैँडाकोट नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको बजेटमा पूर्वाधार क्षेत्रलाई बिशेष प्राथमिकताका रूपमा लिएको छ।
पूर्वाधार विकास समितिका योजनाहरुका लागि पालिकाले १२ करोड ५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ।
नगरपालिकाले नगरभित्रको फोहोरमैला व्यवस्थापन तथा प्रशोधन केन्द्र निर्माणका लागि १ करोड ५० लाख रुपैयाँ बजेट छुट्याएको छ। यसले नगरको समग्र सरसफाइलाई दिगो र प्रभावकारी बनाउने अपेक्षा गरिएको प्रमुख प्रशासकीय अधिकृत झविन्द्र खनालले बताउनुभयो।
नगरपालिकाको समग्र वडालाई जोड्न रिङरोड निर्माण (वडा नं. १ देखि १७ सम्म) का लागि १ करोड साथै मेसजाली सडक निर्माण (वडा नं. १० देखि १७) मा पनि १ करोड रुपैयाँ विनियोजन गरिएको छ।
नगरको समग्र विकास, सेवा प्रवाहमा सुधार तथा नागरिकको जीवनस्तर उकास्न विविध कार्यक्रम अगाडि सारिएका खनालले जानकारी दिनुभयो।
आगामी आवमा नगरको आफ्नै बसपार्क स्थापना तथा पूर्वाधार व्यवस्थापनका लागि ३० लाख रुपैयाँ बजेट बिनयोजन गरेको छ। साथै व्यवस्थित शवदाह गृह (संसानघाट) निर्माणका लागि ४० लाख रुपैयाँ छुट्याइएको छ।
बालमैत्री नगरपालिका कार्यक्रमका लागि २५ लाख र होमस्टे कार्यक्रमका लागि वडा नं. १८ मा ५ लाख रुपैयाँ छुट्याइएको छ। घरेलु मदिरा ब्रान्डिङ र सहजीकरणमा ५ लाख रुपैयाँ विनियोजन गरिएको छ।
असार ६ गते शुक्रबार नगर सभाको १९ औँ अधिवेशन सम्पन्न भएको छ। आगामी आव २०८२/०८३ का लागि पालिकाले १ अर्ब ८ करोड ७२ लाख ४४ हजारको बजेट बिनियोजन गरेको हो।