गैँडाकोट- गैँडाकोट नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको बजेटमा दमकल संचालन तथा व्यवस्थापनका लागि ८० लाख बजेट छुट्याएको छ।
बढ्दो शहरीकरणको कारणबाट सृजित आगलागीको जोखिमबाट हुने क्षतिलाई न्यूनीकरण गर्न नगरको आफ्नै दमकलको व्यवस्था गर्नुपर्ने भएकोले आगामी आवको बजेटमा दमकल संचालन र व्यवस्थापन गर्नका लागि सो बजेट छुट्याईएको नगर उपप्रमुख शान्ती कोइरालाले बजेट वक्तव्यमा उल्लेख गर्नुभयो।
सधै अन्य पालिकाको भर पर्दा आगलागीजन्य घटनाबाट नगरवासीलाई समयमै सेवा दिन नसकिने भएकोले दमकल संचालनका लागि खरिद प्रकृया अन्तिम चरणमा पुगेको प्रमुख प्रशासकीय अधिृकत झविन्द्र खनालले बताउनुभयो।
प्राकृतिक विपत्तीजन्य कार्यको व्यवस्थापनका लागि समेत पालिकाले ४० लाख बजेट बिनियोजन गरेको छ। साथै अन्य सामाजिक सहायताका लागि विपद राहत तथा उद्दार कार्यविधि २०७९ बमोजिम २५ लाख समेत बजेट छुट्याईएको खनालले बताउनुभयो।
असार ६ गते शुक्रबार नगर सभाको १९ औँ अधिवेशन सम्पन्न भएको छ। आगामी आव २०८२/०८३ का लागि पालिकाले १ अर्ब ८ करोड ७२ लाख ४४ हजारको बजेट बिनियोजन गरेको हो।