२०८२ माघ २४, शनिबार
कम्पनी रजिष्ट्रारको कार्यालयले आर्थिक बर्ष २०८२।०८३ को शुरुवातदेखि नै सञ्चालनमा ल्याएको नयाँ विद्युतीय प्रणाली (केमिस सिस्टम) बाट सेवा प्रवाह गर्न थालेपछि अब सेवाग्राहीलाई कम्पनी प्रशासन सम्बन्धी कार्य आफ्नो घरैबाट गर्न संभव तुल्याएको छ। कम्पनी प्रशासन व्यवस्थापन सूचना प्रणाली लागु गर्न शुरुवातमा केही समस्या देखिएको भए तापनि हाल सेवाग्राहीमा आएको प्राबिधिक साक्षारतामा सुधारले सेवा प्रवाह सरल, सहज र पारदर्शी भएको हो ।



केमिस प्रणालीको माध्यमबाट कम्पनी दर्ता, अद्याबधिक, खारेजी, विवरण संशोधन लगायतका सबै कार्य अनलाईन माध्यमबाट हुने भएपछि सेवाग्राही कार्यालयमा धाइरहनुपर्ने अवस्थाको अन्त्य भएको छ । सेवा प्रवाह र प्रशासनिक कार्यहरुलाई विद्युतीय सूचना प्रबिधिमा आधारित तुल्याएपछि सेवा प्रदायक र सेवाग्राहीको भौतिक सम्पर्क बिना नै सहज रुपमा सेवा प्रवाह हुने अवस्थाले विगतमा जस्तो अनियमितता, अपारदर्शिता र भ्रष्टाचारको अवस्थामा कमी आउनु स्वभाविक नै हो ।
२०८२ साल भाद्र महिनामा रजिष्ट्रारको रुपमा सहसचिव बलराम निरौलाले कार्यालयको नेतृत्वमा बहाल भएपछि कार्यालयको सेवा प्रवाह र विद्युतीय सुशासनमा आसालाग्दो कार्य भएको कम्पनी कानून व्यवयायी टेक प्रसाद कट्टेलले बताए । रजिष्ट्रारज्युले रणनैतिक ढंगले कार्यालयको कार्य प्रकृति बमोजिम कार्य संस्कृतिमा आमुल परिवर्तन गर्दै उपसचिवहरु तथा शाखा अधिकृतहरु सहित सबै कर्मचारीहरुलाई आफ्नो सोंच बमोजिम सुधारमा कटिबद्ध बनाउन सफल भएको कट्टेलले बताए ।
बुद्धिबिलासीहरुसँग चेतनाको गहिरो ज्ञान हुँदैन त्यसैले उनीहरु पढेका र सुनेका कुरा बताउँछन् तर हरेक कुरालाई व्यवहारिक रुपमा अनुभूत गर्नेहरु मात्र प्रज्ञावान हुन्छन् ।प्रज्ञावान व्यक्तिहरुलाई कुनै पनि कुरा जस्तैः सेवाग्राहीका अप्ठ्यारा, कठिनाई, दुख, हैरानी आदिको कारण र निवारण थाहा हुने गर्दछ । त्यस्ता क्षमतावान कर्मचारीलाई सहज पहिचान गर्न सक्ने क्षमता भएका रजिष्ट्रार निरौलाले सोही बमोजिम कर्मचारीको कार्य जिम्मेवारी प्रदान गर्दा कार्यसम्पादनमा चुस्तता आएको सेवाग्राहीहरु बताउँछन् ।
कार्यालयको कार्य सम्पादनमा सहजता ल्याउन रजिष्ट्रार र उप-रजिष्ट्रार सम्मिलित उच्च व्यवस्थापन समिति गठन गरेर नियमित रुपमा बैठक बसी सेवा प्रवाह सम्बद्ध समस्याहरु समाधानका उपायहरु कार्यान्वयन गरिने, प्राबिधिक र सूचना प्रबिधि परामर्शदातासँगको नियमित समन्वयबाट कार्यालयमा आएका समस्या समाधान गरिने संस्कृतिको बिकास भएको हुँदा नतिजामूलक सेवाप्रवाहमा टेवा पुगेको रजिष्ट्रार बलराम निरौलाले बताए । “कार्यालयमा कार्य सम्पादनमा सुधार गर्न चाहने युवा कर्मचारीहरुको निकै राम्रो टिम रहेकोले सुधारको अभियानमा सहयोग पुगेको छ ।” रजिष्ट्रार निरौलाले बताए ।
प्रबिधिमा अझै पनि बेलाबखत समस्या आइरहने गरेको भए तापनि विगतमा जस्तो सेवाग्राहीका गुनासा नरहेको र बृत्ति विकासको पर्याप्त संभाव्यता भएका युवा कर्मचारीको बाहुल्यताले गर्दा सुशासनमा सुधार आएको कुरा सेवाग्राहीले बताउने गरेको कार्यालयका सूचना अधिकारी उपसचिव राम प्रसाद ज्ञवालीले बताउँछन् ।
“रजिष्ट्रारज्युको सुधारमूखी सोंचले गर्दा सुधारको प्रयासले गति लिएको हो ।” उनी थप्छन् । उपसचिव ज्ञवालीका अनुसार गत आर्थिक बर्षको जेठ असारमा सफ्टवेयरमा लामो समयसम्म समस्या आई अति संवेदनशील समयमा सेवा प्रवाह प्रभावित हुन पुग्दा गुनासो मन्त्रालयसम्म पुगेको थियो । मन्त्रालयले कार्यालयको नेतृत्व परिवर्तन गर्दै सहसचिव बलराम निरौलालाई रजिष्ट्रारको जिम्मेवारी लिए पछि नयाँ प्रणाली अपग्रेड गरी सेवा प्रवाहलाई सहज बनाइएको हो ।
कम्पनी रजिष्ट्रारको कार्यालयले अबदेखि एक करोड रुपैयाँ भन्दा माथि चुक्ता पूँजी भएका कम्पनीले अनिवार्य रुपमा कम्पनी सचिव तथा कर्मचारी राख्नुपर्ने व्यवस्था लागु गर्ने तयारी गरेको छ । त्यसपछि कम्पनीको अद्याबधिक, पुँजी बृद्धि, उद्देश्य परिवर्तन जस्ता काम कम्पनीका सचिव वा कर्मचारी बाहेक अन्यले गर्न नपाउने व्यवस्था हुने रजिष्ट्रार निरौलाले बताए । विगतमा यस्ता काम गर्न बिचौलिया हावी हुने गरेकाले कार्यालयका कर्मचारी र कार्यालयको समेत बदनाम हुने अवस्थालाई नयाँ व्यवस्थाले पूर्ण रुपमा निरुत्साहित गर्ने विश्वास गरिएको छ । हाल नयाँ कम्पनी ऐनको मस्यौदा तयार भई छलफलको क्रममा रहेको जानकारी पनि रजिष्ट्रार निरौलाले गराएका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे