२०८३ श्रावण १३, बुधबार


काउन्सिलले पत्रकार आचारसंहिता प्रतिकूल सामग्री प्रकाशन तथा प्रसारण गर्ने सञ्चारमाध्यममाथि कारबाही प्रक्रिया अघि बढाउनुका साथै ६ वटा सामाजिक सञ्जालमार्फत प्रकाशित सामग्रीमाथि अनुसन्धानका लागि नेपाल प्रहरीको साइबर ब्युरोमा पत्राचार गरेको छ।
हालै सुनसरीलगायत पूर्वी जिल्लामा घटेको संवेदनशील घटनासम्बन्धी सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा प्रकाशित सामग्रीको नियमित अनुगमन भइरहेको काउन्सिलका सहप्रशासकीय अधिकृत तथा सहप्रवक्ता/सूचना अधिकारी रामशरण बोहराद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ ।
अनुगमनका क्रममा १४ वटा सञ्चारमाध्यममा पत्रकार आचारसंहिताविपरीत सामग्री प्रकाशन तथा प्रसारण भएको भेटिएपछि ती सामग्री हटाउन टेलिफोनमार्फत निर्देशन दिइएको जनाइएको छ।
निर्देशनपछि ७ सञ्चारमाध्यमले सामग्री हटाएका छन् भने एक सञ्चारमाध्यमलाई २४ घण्टाभित्र लिखित स्पष्टीकरण पेश गर्न पत्राचार गरिएको छ।यस्तै सञ्चार माध्यमअन्तर्गत नपर्ने ५ फेसबुक पेज र १ युट्युब च्यानलमा प्रकाशित ८ वटा गम्भीर प्रकृतिका सामग्रीमाथि अनुसन्धान गरी आवश्यक कानुनी कारबाही गर्न नेपाल प्रहरीको साइबर ब्युरोमा पत्राचार गरिएको विज्ञप्तिमा उल्लेख छ।
काउन्सिलले पत्रकारिता आचारसंहिताको पूर्ण पालना गर्न आग्रह गर्दै धार्मिक वा साम्प्रदायिक सद्भावमा प्रतिकूल असर पार्ने, सामाजिक द्वेष फैलाउने तथा अफवाह र भ्रमपूर्ण सामग्री सम्प्रेषण नगर्न पनि सञ्चारमाध्यम, पत्रकार, सञ्चारकर्मी तथा सामाजिक सञ्जाल प्रयोगकर्तालाई अपिल गरेको छ।
जिम्मेवार, मर्यादित र उत्तरदायी पत्रकारितालाई प्रवर्द्धन गर्न सबै सरोकारवालाको सहयोग आवश्यक रहेको समेत विज्ञप्तीमा उल्लेख छ।

ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे