२०८३ श्रावण १९, मंगलबार


नेतृत्वको यस्तै ’एकलकाटे’ र अपरिपक्व निर्णयका कारण पार्टी विभाजनको जोखिम बढेको भन्दै पार्टी बचाउन बीपी कोइराला पुत्र डा.सशांक कोइरालाको संयोजकत्वमा विशेष ‘राष्ट्रिय भेला’को तयारी समेत भइरहेको छ ।
यसैगरी, प्रदेशको सत्ता समीकरणमा आउने निरन्तरको फेरबदलले कोशी प्रदेशको समिकरणमा पनि परिवर्तन हुने दिन नजिक आइरहेको छ।
यिनै समसामयिक तथा राजनीतिक विषयहरूमा आधारित रहेर नेपाली कांग्रेसका नेता एवं कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीसँग नेपाल न्यूज बैंकका लागि गरिएको भिडियो कुराकानीः
अहिले कांग्रेस विभाजनको डिलमा पुगेको हो ?
कांग्रेस विभाजनको डिलमा पुगेको छैन, तर विभाजन गराउनेतर्फ साथीहरू उन्मुख छन् जस्तो लाग्छ । पार्टी सभापति र उपसभापति ‘पार्टी छिटो विभाजन होस् अनि हामी मात्रै रजगज गर्छौँ, अरू छाडेर जाऊन्’ भन्नेमा हुनुहुन्छ ।
अर्को पक्ष पार्टी मिलिदिए हुन्थ्यो, स–सम्मान बस्न र सहयोग गर्न पाए हुन्थ्यो भन्नेमा छ । एउटा पक्ष ‘अहिलेका सभापति तिमी, पछिको म’ भनेर बाँडफाँडमा छ । अर्कोतर्फ पुराना, जेल परेका, प्रजातन्त्र र राष्ट्रियताका लागि लडेका सिनियर नेताहरू हुनुहुन्छ । उहाँहरू कोही पनि ‘म सभापति वा प्रधानमन्त्री हुन्छु’ भन्नेमा हुनुहुन्न । उहाँहरू नेपाली कांग्रेस एक भएको देखेर मर्न पाऊँ भन्ने चाहनुहुन्छ ।
नत्र त विशेष महाधिवेशन सकिनेबित्तिकै विभाजन हुन्थ्यो । अर्कै चुनाव चिन्हबाट चुनाव लडिसक्थे । अपमान, बेइज्जत गर्दा पनि पञ्चायतले फुटाउँदा र लोभ दिँदा त नछाडेका अग्रजहरूले अहिले पनि पार्टी छाड्न खोज्नुभएको छैन । तर जसको हातमा सभापति पुगेको छ, उहाँहरू १०० प्रतिशतको सभापति बन्न खोजिरहनुभएको छैन । त्यो नै पार्टी एकताको ठूलो बाधक हो ।
यहाँहरूले राष्ट्रिय भेलाको तयारी गर्नुभएको छ, त्यसबाट के हुन्छ ?
राष्ट्रिय भेलाबाट पनि पार्टी एक बनाउने दबाब सिर्जना हुन्छ । राष्ट्रिय भेलाअघि नै जिम्मेवार बन्नुभयो भने पार्टी एकता हुन्छ ।
त्यो चान्स (सम्भावना) देख्नुहुन्छ ?
सभापति हुने मान्छेले सिङ्गो कांग्रेसको सभापति बनौँ भन्ने चाहना राख्नुपर्छ । अरूबाट परिचालित भएनन् भने सहमति हुन्छ । सभापति जिम्मेवार हुनुभयो भने अर्को पार्टी गठन हुँदै–हुँदैन ।
यही बीचमा प्रदेश सरकारहरू परिवर्तन हुने खेल भएको छ, तपाईं पूर्वमुख्यमन्त्री पनि हुनुहुन्छ, स्पष्ट धारणा के हो ?
यो नेपाली कांग्रेसको अहिलेको समिति अपरिपक्व छ भन्ने उदाहरण हो । उहाँहरूले इमोसनमा गरेका निर्णयहरू हुन् ।
अन्य दलहरूसँग कसरी संवाद गर्ने र त्यसलाई कसरी विश्वासिलो बनाउने भन्नेमा नलागेर फुर्किएर काम गर्दाको परिणाम हो । सङ्घीय सरकारलाई चेकिङ र ब्यालेन्स गर्न, सङ्घीयता मजबुत बनाउन, ’प्रदेशलाई बल्गर बनाइयो’ भन्ने प्रधानमन्त्रीलाई खबरदारी गर्न बलियो र प्रजातान्त्रिक प्रदेश सरकार चाहिन्थ्यो ।
तर उहाँहरूले अपरिपक्व निर्णय गर्नुभयो । पहिले प्रचण्डले ओलीसँग तीन दलको सरकार बनाउने प्रस्ताव राख्नुभयो, ओलीले मान्नुभएन । त्यसपछि उपसभापति १ घण्टा ५६ मिनेट ओलीसँग वार्ता गरेर मन्त्री माग्न जानुभयो । त्यो नभएपछि प्रचण्डले उहाँहरूलाई कागजको गुलाब दिनुभयो, उहाँहरू त्यो सुँघेर बस्नुभयो। श्रीलङ्काबाट फर्किएपछि प्रतिपक्षमा बस्छौँ भन्नुभयो, फेरि अर्को दिन सरकार बनाउने कसरत गर्छौँ भन्नुभयो । यसले उहाँहरूको अपरिपक्वता देखाउँछ ।
एकातिर सिटी हलको कार्यक्रममा ‘गगनजीलाई प्रधानमन्त्री बनाउन लागिरहन्छौँ’ भन्ने, अनि प्रदेशमा चाहिँ अरू कोही मुख्यमन्त्री÷मन्त्री बन्दा रिस जाग्ने ? यस्तो एकलकाटे चरित्रले सङ्गठन बन्छ ?
एमाले र नेकपा बिच सहमतिको खाका बनिसकेको छ। यसैबिचमा कोशीको हकमा अब के हुन्छ ?
कोशीको हकमा अब कोर्ट एमालेको हातमा छ । एमालेको भित्री विवाद र अन्तरसङ्घर्षले गर्दा उहाँहरू अनिर्णित हुनुहुन्छ ।
हामी त अहिले आधिकारिक रूपमा भन्नुपर्दा परबाट हेरिरहेका छौँ । हस्तक्षेप वा सल्लाह दिने अवस्था छैन । अहिले दलको नेताले निर्णय गर्ने हो, तर दलको नेता माथिबाट के आउँछ भनेर पर्खेर बस्नुभएको छ । माथिकालाई पनि आफ्नो भूमिका के हो भन्ने थाहा छैन ।
त्यसैले पार्टीको हिसाबले अहिल्यै केही भन्न सकिँदैन । संसद्को हिसाबले भन्नुपर्दा हामी अहिले नयाँ सरकार बन्ने कुरामा पर्ख र हेरको अवस्थामा छौँ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे