२०८३ श्रावण २८, बिहिबार


राहदानी, सवारी चालक अनुमतिपत्र, शैक्षिक प्रमाणपत्रलगायत सामग्री हुलाकमार्फत नागरिकको घरसम्म पुर्याउने व्यवस्था कार्यान्वयनमा आएको छ । हुलाक सेवा विभागका अनुसार हुम्लाबाहेक देशका सबै जिल्लामा सरकारी कागजात घरमै पुर्याउने सेवा सञ्चालनमा आएको छ ।
साउन २७ गतेसम्म ७६ जिल्लाका जिल्ला प्रशासन कार्यालयमा २ लाख ४७ हजार ४३ राहदानी ढुवानी गरिएकोमा ८ हजार ६६९ राहदानी सेवाग्राहीको घरमै पुर्याइएको छ । त्यस्तै, १० लाख ३८ हजार ८०८ सवारी चालक अनुमतिपत्र सम्बन्धित कार्यालयमा पुर्याइएको छ ।
शैक्षिक प्रमाणपत्र, स्वास्थ्य सामग्री तथा प्रयोगशालाका नमुना ढुवानीमा पनि हुलाकको प्रयोग बढेको विभागले जनाएको छ । नेपाल खुला विश्वविद्यालयसँगको सहकार्यमा शैक्षिक प्रमाणपत्र घरमै पुर्याउने सेवा सुरु भएको छ भने १७ अस्पतालका १ हजार ४८० प्रयोगशाला नमुना हुलाकमार्फत ढुवानी गरिएको छ ।
हुलाक सेवालाई थप व्यवस्थित बनाउन ५० वटा कार्यालयलाई ‘स्मार्ट हुलाक’का रूपमा विकास गर्ने तयारी गरिएको छ । सात अङ्कीय हुलाक सङ्केत प्रणाली, आन्तरिक निगरानी प्रणाली तथा सरकारी निकायसँग प्रत्यक्ष सूचना आदानप्रदानको व्यवस्था सुधार भइरहेको विभागले जनाएको छ ।
विभागले हुलाकलाई परम्परागत चिठीपत्र आदानप्रदानमा मात्र सीमित नराखी नागरिकलाई सरकारी सेवा घरदैलोसम्म पुर्याउने भरपर्दो सार्वजनिक सेवाका रूपमा विकास गर्ने लक्ष्य लिएको छ। यद्यपि आवश्यक सवारीसाधन, सूचना प्रविधिका उपकरण र व्यवस्थित ठेगाना प्रणालीको अभाव भने सेवा विस्तारमा चुनौती रहेको विभागले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे