२०८३ श्रावण २६, मंगलबार


गोसाइँकुण्ड मार्गमा सञ्चालित होटल व्यवसायीहरूले मेला भर्न आउने भक्तजनका लागि पर्याप्त भोजनको व्यवस्था मिलाउन दाल, चामल, तेल, नुन, मसलालगायत खाद्य सामग्री उच्च क्षेत्रमा ढुवानी गरिरहेका छन् । गोसाइँकुण्ड मार्गको छाता सङ्गठन होटल व्यवसायी सङ्घका अध्यक्ष रेन्जन निमा तामाङका अनुसार खन्ती देउराली, डिम्सा, चन्दनबारी, लौरीविनायक हुँदै गोसाइँकुण्डसम्मका २५ भन्दा बढी होटलले खाद्यान्नको भण्डारण र व्यवस्थापन गरिसकेका छन् ।
ठूलोस्याफ्रुका होटल व्यवसायी पासाङ ग्याल्पो तामाङले होटल व्यवसायीले तीर्थयात्रीको आगमनलाई सहज र व्यवस्थित बनाउने उद्देश्यले खाद्यान्नसहित होटल तथा लजको सुदृढीकरणको काम गरिरहेका बताए । तीर्थयात्री तथा पर्यटकलाई गुणस्तरीय बास उपलब्ध गराउन होटलका कोठामा रङरोगन गर्ने, पुराना शय्या फेर्ने तथा अन्य आवश्यक मर्मतसम्भारका काम सम्पन्न भइसकेका उनले जानकारी दिए ।
सङ्घका अध्यक्ष तामाङले गोसाइँकुण्डमा आउने भक्तजन तथा पर्यटकलाई खान र बस्न कुनै समस्या नहोस् भन्ने उद्देश्यले आवश्यक तयारी गरिएको बताए । उनका अनुसार मेला भर्न आउने तीर्थयात्रीको घुइँचोलाई मध्यनजर गर्दै स्थायी होटलको क्षमताले मात्र नधान्ने भएकाले अस्थायी वासस्थानका रूपमा प्रयोग हुने दुई सयभन्दा बढी थर्पु निर्माणको प्रक्रिया पनि अगाडि बढाइएको छ ।
अध्यक्ष तामाङका अनुसार थर्पु भुईँमा सुकुल (म्याट) ओछ्याएर तीर्थयात्रीलाई रात बिताउने व्यवस्था मिलाइनेछ । होटल तथा लजको क्षमता नपुगेमा, आर्थिक अवस्था कमजोर भएका यात्रु लागि थर्पु सुरक्षित र प्रभावकारी आवास बन्ने व्यवसायीहरूको भनाइ छ ।
अस्थायी रूपमा निर्माण गरिने थर्पुमा अनिवार्य रूपमा अस्थायी शौचालयको व्यवस्था गरिने लाङ्टाङ राष्ट्रिय निकुञ्जले जनाएको छ । तीर्थयात्रीको घुइँचो बढी हुने भएकाले स्थायी होटल तथा लजले मात्र आवासको माग धान्न नसक्ने हुँदा गोसाइँकुण्ड क्षेत्रमा मेला तथा पर्वका समयमा अस्थायी छाप्रा अर्थात् थर्पु निर्माण गर्दै आइएको होटल व्यवसायी सङ्घले जनाएको छ ।रासस
जनैपूर्णिमा मेलामा देशका विभिन्न स्थानबाट ठुलो सङ्ख्यामा तीर्थयात्री गोसाइँकुण्ड पुग्ने भएकाले यस वर्ष पनि खाद्यान्न, आवास, सरसफाइ तथा अन्य आवश्यक सेवाको तयारीलाई प्राथमिकता दिइएको व्यवसायीहरूले बताएका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे