२०८१ बैशाख १५, शनिबार
प्रेस काउन्सिल नेपालले स्थिर समय (मौन अवधि)मा आचारसंहिता उल्लङ्घन गर्ने सञ्चारमाध्यमलाई तत्काल कारबाही गर्ने र त्यसलाई लोककल्याणकारी विज्ञापन वितरणमा समेत कडाइ गर्ने जनाएको छ । काउन्सिलले मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको प्रचारप्रसार गर्ने समय आज राति १२ बजेसम्म रहेकाले तत्पश्चात प्रसारजन्य सामग्री सम्प्रेषण नगर्न सञ्चार माध्यमलाई सचेत गराएको हो ।
निर्वाचन आचारसंहितामा मतदान हुनु अघिल्लो ४८ घण्टादेखि मतदान केन्द्र बन्द नहुञ्जेलसम्म प्रचारप्रसारजन्य सामग्री, विज्ञापनलगायत राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा ‘टक सो’, टिप्पणी, विश्लेषण, प्रश्नोत्तरजस्ता कार्यक्रम प्रकाशन/प्रसारण/सम्प्रेषण गर्न नपाइने व्यवस्था छ । कतिपय सञ्चार माध्यमबाट मौन अवधि सुरु भएपछि पनि सोअघिको मिति राखेर सामग्री सम्प्रेषण गर्ने गरेको जनगुनासा आउने गरेको भन्दै काउन्सिलले सुक्ष्म ढङ्गबाट अनुगमन गरिरहेको जनाएको छ । “स्थिर समय (मौन अवधि)मा आचारसंहिता उल्लङ्घन भएमा पत्रकार आचारसंहिता, २०७३ र निर्वाचन आचारसंहिता, २०७९ को व्यवस्थाबमोजिम तत्कालै कारबाही प्रक्रिया अवलम्बन गरिनेछ”, विज्ञप्तिमा भनिएको छ ।
निर्वाचनका सन्दर्भमा देखिएका आचारसंहिता उल्लङ्घनका विषयलाई सञ्चार माध्यमको मूल्याङ्कन÷वर्गीकरण एवं लोककल्याणकारी विज्ञापनको भुक्तानीका लागि आधारका रूपमा अभिलेखीकरण एवं सिफारिस गरिने काउन्सिलले जनाएको छ । काउन्सिलले आचारसंहिता पालनामा थप संवेदनशील, सजग र सचेत रहन सञ्चारमाध्यम, आमपत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तामा विशेष अपिल गरेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे