२०८२ अषाढ ३०, सोमबार
गुठिचौर गाउँपालिका–५ का यिनै दीपेन्द्र सानैदेखि तीक्ष्ण विद्यार्थी थिए । कक्षामा सधैं टप टेनभित्रै पर्थे । स्कुलमा एकसरो पढेकै उनका लागि पर्याप्त हुन्थ्यो । कहिल्यै घरमा ध्यान दिएर पढेको उनलाई सम्झना छैन । एसएलसी जुम्लाको कनिका निशा माविबाट उत्तीर्ण गरेपछि ११÷१२ मा विज्ञान पढ्न थाले ।
११÷१२ मा विज्ञान विषयमा प्रथम श्रेणीमा उत्तीर्ण गरेका दीपेन्द्र खोपा इन्जिनियरिङ कलेजमा इन्ट्रान्स उत्तीर्ण गरी भर्नाका लागि योग्य देखिए । तर, उनका बाबुले दोस्रो विवाह गर्दा उनको पढाइमा बाधा पुग्न गयो । उनको इन्जिनियर बन्ने सपना अधुरो हुन गयो । बाबुको अनपेक्षित कदमले सपना चकनाचुर भएपछि उनले आर्थिक संकटको नमिठो अनुभव लिन बाध्य भए ।
तर, खाने मुखलाई जुँगाले छेक्दैन भनेझैं उनी लोकसेवा तयारीमा कस्सिएर लागे । उनले पहिलोपटक २०७४ सालमा जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यालय सचिब (पाचौं तह)मा नियुक्त भई काम गरे । यसपछि भने पठनपाठनका लागि केही राहत भयो । ८ पुस २०७६ मा स्थानीय तहको विज्ञापनमा पातारासी गाउँपालिकामा सिफारिस भए ।
निजामती क्षेत्रमा पाइला टेकिसकेका दीपेन्द्रको यात्राले उपलब्धिको ग्राफ बढाउने संकेत गरिसकेको थियो । नियुक्तिपश्चात् पातारासी गाउँपालिकाका युवा कर्मचारीसँगको घनीभूत संगत, छलफल र विचारविमर्श उनको जीवनमा सम्झिनलायक पाटो बन्यो । पाताराशी गाउँपालिकाका इन्जिनियर नवीन शाही, आलेप प्रकाश न्यौपाने, नरेन्द्र भन्डारी (सहायक पाचौं) र लेखा सहायक केशव न्यौपानेसँगको सहकार्य र संगत सम्झनलायक रहेको दीपेन्द्र सम्झन्छन् ।
उनीहरूको पाँच जनाको समूह यस्तो बन्न पुग्यो, जुन समूहको संगत, सहकार्य र सद्भावले उचाइ लिँदै गयो । मित्रताको डोरी थप मझबुत बनायो जुम्ला खलंगाको फुटसलले । संयोग पनि कस्तो, जागिर प्रवेश र जुम्लामा फुटसल स्थापनासँगै भयो । जुम्लामा रहेको फुटसल फुर्सदको समय रम्ने र जमघट हुने केन्द्र बन्यो । प्रायः जसो कार्यालय समयबाहेक र र्साजनिक बिदाको दिन फुटसलमै समय बित्न थाल्यो । फुटसलको सौख विस्तार लतमा परिणत भइरहेको थियो । वर्तमान विश्व फुटबलका महान् खेलाडी लियोनल मेस्सी र रोनाल्डोको पक्ष विपक्षमा समूहमा अनेक हासिमजाक र चर्चा चल्थ्यो फुटसलमा ।
यहीबिचमा २०७८ तिर शाखा अधिकृतको विज्ञापन खुल्यो । दीपेन्द्र पहिलोपटक शाखा अधिकृतको परीक्षामा सहभागी भई उत्तीर्ण पनि भए ।
विज्ञापन भएको दिनबाट परीक्षा तयारी थालेका यिनै दीपेन्द्र शाखा अधिकृतमा सिफारिस भएका छन् । मात्रै तीनमहिने तयारी दीपेन्द्रका लागि शाखा अधिकृत बन्न पर्याप्त भयो । अहिले उनी शाखा अधिकृत बनेको अप्रत्याशित खबरले सबै दंग छन् । यद्यपि, सानैदेखि तीक्ष्ण विद्यार्थी दीपेन्द्रको निजामती क्षेत्रमा सुखद अवतरण भएको उनका साथीसर्कलको तर्क छ ।
आर्थिक वर्ष २०७८-७९ को शाखा अधिकृतको विज्ञापनमा खुलातर्फ ४१ नम्बरमा प्रशासनतर्फ जुम्लाबाट सिफारिस हुने एक मात्र जुम्ली रहे र जुम्लाको प्रतिनिधित्व गरे । अहिले उनी भन्छन्, ‘लगाव राख्नुपर्छ, धैर्य गर्नुपर्छ, के थाहा ? सफलता दुई पाइलाको दूरीमा पनि हुन सक्छ ।’ राजधानी दैनिकबाट
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे