२०८२ मंसिर १७, बुधबार
जेनजी आन्दोलनको पहिलो दिनमै प्रहरीले चलाएको गोली लागेर काठमाडौँको बानेश्वरमा योगेन्द्र सधैँका लागि अस्ताएका थिए । घरको जिम्मेवारी सम्हाल्ने बेला भएको छोरो गुमेपछि लक्ष्मीको अनुहारमा छाएको पीडा शब्दले बयान गर्न सकिन्न । दिउँसै बत्ती बाल्दा पनि उज्यालो नछाउने घरको एक कोठामा सहिद योगेन्द्रका तस्वीरहरु राखिएका छन् । त्यही कोठामा लक्ष्मीको धेरै समय बित्छ ।
साँझ–बिहान श्रद्धाञ्जली लेखिएका तस्वीरमा धुप–दीप गर्छन् र छोराको स्वर्गमा बास होस् भन्ने कामना गर्छन् । “जेनजी आन्दोलनमा अरु धेरैका सन्तानले ज्यान गुमाए । तर, यस्तो बेला आफूलाई मात्रै पीडा परेको जस्तो लाग्दोरहेछ,” लक्ष्मीले २३ वर्षीय सहिद योगेन्द्रको तस्वीर सुमसुमाएर देखाउँदै भनिन्, “यस्तो छोरो गुमाएर बाच्नु परेको छ ।”
लक्ष्मी सुत्ने कोठाभरि सहिद योगेन्द्रका बाल्यकालदेखि युवावस्थासम्मका सम्झनाहरु छन् । आमा लक्ष्मीको आँखाभरि गुमाएको छोरोका यादहरु छन् । त्यी यादले उहाँलाई रातमा निद्रा दिदैन, दिनमा चयन मिल्दैन । छोरोको झल्कोले बेला–बेलामा ऐँठन भइराख्छ । “अब रुन्न भन्छु, उसलाई सम्झिन्छु । आँसु खस्छ, रोक्नै सक्दिन । कोही साथमा हुँदा बोल्यो । एक्लै हुँदा त सम्झयो, रोयो । के गरी मन बुझाउँनु र !,” उनले पीडा पोखिन् ।
सानै उमेरमा माइतीका आमाबुबा गुमाएकी लक्ष्मीका दाजुभाई पनि छैनन् । आफूले जन्माएका तीन सन्तान थिए । जेठो छोरो योगेन्द्रले अकालमै ज्यान गुमाउनु पर्याे । अहिले उनका दुई सन्तान छन् । त्यसमध्ये छोरीको विवाह भइसकेको छ । कान्छो छोरो सहिद योगेन्द्रको काजकिरीया सकिएपछि काठमाडाैँ फर्किएका छन् ।
यतिबेला सहिद योगेन्द्रको सिन्धुलीको गोलञ्जोर गाउँपालिका–१ च्याकुटारस्थित घरमा आमा लक्ष्मी र बुबा युवराज न्यौपाने (उमेश) मात्रै छन् । लक्ष्मी दम्पतिले केही समयअघि गाउँमा भएको जमिन बेचेर काठमाडौँमा घर किनेका थिए । सहिद योगेन्द्र सोही घरमा बसेर त्रिचन्द्र क्याम्पसमा पढ्दै थिए । उनको सपना थियो, सरकारी सेवामा अधिकृत बन्ने । उनले आफ्नो सपना पूरा गर्न गत असारमा अधिकृत बन्ने लोकसेवा आयोगको परीक्षा दिएका थिए ।
काठमाडौँ आफ्नै घरमा बसेका योगेन्द्र गाउँको घरमा नआएको पनि ६ महिना भएको थियो । भिडिओ कलमा आफ्नो परीक्षा राम्रो भएको भन्दै परिवारमा थप आशा र भरोसा जगाएका थिए ।
“१२ कक्षा पास गरेको कान्छो छोरो विदेश जाने सोचमा थिए भने योगेन्द्र भने विदेश नजाने अडानमा हुनुहुन्थ्यो । उहाँको एक मात्रै सपना सरकारी अधिकृत बन्ने थियो,” आमा लक्ष्मीले भक्कानिँदै सुनाइन् ।
चाडपर्व नजिकिदै थिए । दशैँ मनाउन गाउँको घर फर्कने योगेन्द्रको योजना थियो । यता, बुबा–आमालाई छोरो भेट्ने उत्सुत्कता उत्तिकै थियो । तर, नियतिले परिस्थिति भयानक बनाइदियो । दशैँ, तिहार चाडबाड त आए तर योगेन्द्र आउनुभएन । योगेन्द्रको अभावमा रहेको परिवार अब आफ्नो घरमा चाडपर्वको उल्लास कहिल्यै नआउने दुःखेसो गर्छन् ।
योगेन्द्र बितेको वियोगमा आफन्तको समेत अझैसम्म आशुँ ओभाएका छैनन् । “सरल स्वभावको मिहेनती थियो । अस्वस्थकर खानेकुरा आफू पनि खादैँनथे, अरुलाई पनि नखान सुझाउथे । पढाई अब्बल थियो । त्यस्तो घटना भयो । मन अझैसम्म पिरोलिन्छ,” उनका आफन्त छत्रमाया न्यौपानेले भने । योगेन्द्रको स्वभाव भद्र भएको बताए । राजनीतिमा खासै चासो नराख्ने, आफ्नो काम र पढाईमा मात्रै ‘फोकस’ हुने भजिता त्यो दिन कसरी आन्दोलनमा पुग्यो भनेर आश्चर्यमा परेको उनले बताए ।
सहिद योगेन्द्रका बुबा युवराज न्यौपाने (उमेश) पेशाले स्थायी शिक्षक हुन् । आमा लक्ष्मीले घरधन्दासँगै पसल चलाएका छन् । उनले भने, “भदौ २३ गतेको जेनजी आन्दोलनको सुरुमै मेरो जेठो छोरो योगेन्द्र सहिद भयो । त्यसमा असाध्यै दुःख छ । उनीहरुले जे उद्देश्य लिएर आन्दोलन गरे, देशको निम्ति रगत बगाए । त्यो रगतको मूल्य राज्यले बुझ्नुपर्छ ।”
उनको बुझाइमा जेनजीहरुको आन्दोलन राष्ट्रका लागि नै थियो । जेनजीहरुले देश ‘ट्रयाक्क’ भन्दा बाहिर गयो, ‘ट्रयाक्क’ मा आउनुपर्छ भनेर आन्दोलन गरेका थिए । जेनजीले गरेको आन्दोलन देशमा मौलाउँदै गएको विकृति, विसङ्गती र बेतिथिका विरुद्धमा थियो ।
जेनजी आन्दोलनले देखाएको मार्गलाई राज्यले आत्मसाथ गर्नुपर्ने बुबा युवराजको तर्क छ । उनका अनुसार सहिदले बनाएको रगतको मूल्य बुझ्न नसक्ने हो भने आगामी पुस्ताले फेरि त्यही गल्ती दोहोर्याउनु पर्ने अवस्था आउन सक्छ । “हाम्रा बाबुहरुले जस्तै अरु नयाँ युवाले रगत बगाउन नपरोस्,” उनले भने । राज्यले जेनजी आन्दोलनको सार बुझेर परिर्वतनको आधार तयार नगरेसम्म जेनजी आन्दोलनका सहिदहरुको आत्माले शान्ति प्राप्त नगर्ने उनको भनाइ छ ।रासस
जेनजी आन्दोलनका सहिद परिवारलाई सरकारले घोषणा गरेका केही राहत उनीहरुसम्म पुगेका छन् । तर, त्यतिले नपुग्ने सहिद परिवारको भनाइ छ । सङ्घीय सरकारले जेनजी आन्दोलनमा साहदत प्राप्त गर्ने सहिदहरुको शालिक, स्मारक निर्माण गर्नु पर्ने, जेनजी आन्दोलन स्मरण दिवसलाई सार्वजनिक विदा घोषणा गर्नुपर्ने र सहिदका परिवारलाई रोजगारीको व्यवस्था हुनुपर्ने सहिद परिवारको माग छ ।
जेनजी आन्दोलनका क्रममा योगेन्द्रसहित सिन्धुलीका तीन जनाले ज्यान गुमाएका थिए । तीनपाटन गाउँपालिका–६ भलायोडाँडाँका १९ वर्षीय दिपेश सुनुवार भदौ २४ गते बानेश्वरमा भएको आन्दोलनकै क्रममा गम्भीर घाइते भएका थिए । उपचारका लागि त्रिवि शिक्षण अस्पतालमा महाराजगञ्ज पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।
सिन्धुलीको दुधौली नगरपालिका–८ घर भएका प्रहरी सहायक निरीक्षक मिलन प्रहरी वृत्त महाराजगञ्जमा अपराध अनुसन्धान तथा कारबाही शाखामा काजमा कार्यरत थिए । ३० वर्षीय मिलनलाई २४ भदौमा सादा पोशाकमै रहेका बेला प्रदर्शनकारीले डिएसपी भन्दै कुटेर हत्या गरेका थिए ।
जेनजी आन्दोलनमा ज्यान गुमाएकालाई राज्यले सहिद घोषणा गरेको तीन महिना पुगिसकेको छ । तर, आजका दिनसम्म त्यी सहिदको सम्झानामा जिल्ला तथा पालिकास्तरमा कुनै पनि गतिविधि नभएको सहिद परिवारको गुनासो छ ।
सहिद परिवारका अनुसार सिन्धुलीको सदरमुकाम सिन्धुलीमाढीमा एउटा ‘जेनजी सहिद स्मारक पार्क’ निर्माण गरी तीन सहिदका शालिकहरु स्थापना गर्नुपर्छ ।
स्थानीय तहको भूमिकालाई जोड दिँदै पालिकाले पनि आफ्नो ठाउँमा शालिक निर्माण र जेनजी आन्दोलनको दिन सार्वजनिक बिदा दिने व्यवस्था मिलाउनु पर्ने माग गरेका छन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे