२०८२ अषाढ २९, आईतबार
महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०८०/८१ मा नवलपरासी(बर्दघाट सुस्तापूर्व)का आठ वटा पालिका मध्य हुप्सेकोट गाउँपालिका सबै भन्दा कम बेरुजु भएको पालिका बनेको हो ।
महालेखा परीक्षकको वार्षिक प्रतिवेदन अनुसार हुप्सेकोट गाउँपालिकामा १.०० प्रतिशत बेरुजु रहेको उल्लेख रहेको छ । हुप्सेकोट गाउँपालिकाको कुल लेखा परीक्षण रकम १ अर्ब १३ करोड, ८३ लाख, ९ हजार मध्य १ करोड १३ लाख ८५ हजार बेरुजु कायम गरेको छ । जिल्लाका आठ वटै पालिका मध्य हुप्सेकोट गाउँपालिकाको बेरुजु प्रतिशत सबै भन्दा कम रहेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
यसअघिको ६१ औँ वार्षिक प्रतिवेदन अनुसार आर्थिक वर्ष २०७९/८० मा जिल्लाका आठ वटै पालिका मध्य सबै भन्दा धेरै बेरुजु कायम भएको हुप्सेकोट गाउँपालिकाले एक वर्षमा सुधार गर्दै जिल्लामा नै सबै भन्दा कम बेरुजु भएको पालिका बन्न सफल भएको हो । आर्थिक वर्ष २०७९/८० मा हुप्सेकोट गाउँपालिकामा २.०४ प्रतिशत बेरुजु रहेको थियो ।
हुप्सेकोट गाउँपालिका बेरुजु रकममा उल्लेख्य सुधार गर्न सफल हुनुमा जनप्रतिनिधि र कर्मचारीको सुशासन प्रतिको प्रतिबद्धता नै प्रमुख सूत्र रहेको गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले निष्कर्ष.कम लाई बताउनु भयो ।
गाउँपालिकामा असल लेखा प्रणाली, बजेट कार्यान्वयनमा कानुन र ऐनको परिपालना, नीति कार्यक्रमको लक्ष र उद्देश्य अनुरूप कार्यक्रम तर्जुमा लगायतका माध्यम वाट बेरुजु कम गरिएको हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि पराजुलीले निष्कर्ष.कमलाई बताउनु भयो ।
जिल्लामा सबै भन्दा कम बेरुजु हुप्सेकोट गाउँपालिकामा १.०० प्रतिशत रहेको देखिन्छ भने दोस्रो कम बेरुजुमा देवचुली नगरपालिका १.२९, कावासोती नगरपालिकामा १.४५, विनयी त्रिवेणी गाउँपालिका १.४७, बुलिङटार गाउँपालिका १.८७, मध्यविन्दु नगरपालिका २.६२, गैँडाकोट नगरपालिका ३.२६, बौदीकाली गाउँपालिका ४.३२ प्रतिशत बेरुजु रहेको देखिएको छ । विष्णु गौडेल /निष्कर्ष डटकम
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे