२०८२ चैत्र ९, सोमबार
बसको बीच भागको सिटबाट एउटा अवशेष फेला परेको चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले जानकारी दिएका छन् । उनले मानव अवशेष बस भेटिएको स्थानबाट चिकित्सकसहितको टोलीले भरतपुर अस्पताल शव गृहमा ल्याइएको बताए ।
सोमबार बसको इन्जिनको भाग टुक्राएर बाहिर निकालिएको छ भने पछाडि र बीच भाग निकाल्न बाँकी छ । बसको बीच भागमा अवशेष भेटिएकाले थप अवशेष हुन सक्ने भएकाले बस निकाल्ने कार्यलाई निरन्तरता दिइने बताइएको छ ।
तनहुँको मिलन चेनपुली कम्पनी, नेपाल प्रहरी, सशस्त्र प्रहरीको टोलीले चेनपुलीको सहायतमा निरन्तर उत्खनन गरिरहेको छ । गत पुस २७ गते स्थानीय एक व्यक्तिले माछा मार्ने क्रममा गाडीको अवशेष फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । सोही दिनदेखि बेल्चाको प्रयोग गरी नेपाल प्रहरी र सशस्त्र प्रहरीले बालुवा उत्खनन गर्दै अवशेष निकाल्न थालेको थियो ।
२०८१ असार २८ गते काठमाडौंबाट गौर जाँदै गरेको प्रदेश ०३–००१ ख २४९५ नम्बरको गणपति यातायातको बस र वीरगन्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस नारायणगढदेखि २२ किलोमिटर पूर्वोत्तर भरतपुर–२९ सिमलतालमा पहिरोमा बग्दै त्रिशूलीमा खसेर बेपत्ता भएको थियो । दुवै बसका ६५ यात्रुमध्ये बस नदीमै पुगे पनि गणपति यातायातको बसमा सवार तीन यात्रु पौडेर माथि आएका थिए । अरु सबै बससँगै बगेका थिए । दुर्घटनामा परेका मध्ये केहीको मात्रै शव फेला परेको थियो ।
बस र यात्रु खोज्न नेपाली सेना र सशस्त्रका गोताखोरसहित वाटर ड्रोन (सोनार) तथा प्रहरीसहित खोजीमा पाँच सय सुरक्षाकर्मी खटिएका थिए । सरकारले थप खोजीका लागि भारतबाट उच्च प्रविधिसहितको गोताखोर समेत ल्याएको थियो । तर बस फेला परेको थिएन ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे