२०८३ अषाढ २८, आईतबार
सिरहा-सिरहाको गोलबजार नगरपालिका–७ स्थित पुरानो चौक चोहर्वा क्षेत्रमा रहेको पशु हाटबजार परिसरमा पानी जमेको खाल्डोमा डुबेर एकै परिवारका तीन बालबालिकाको ज्यान गएको छ।
मृत्यु हुनेमा अवास शेखका १२ वर्षीया छोरी सबनम खातुन, १० वर्षीया छोरी रुबिना खातुन र ७ वर्षीय छोरा साइफुल शेख रहेका छन्।प्रहरीका अनुसार आइतबार दिउँसो करिब २:३० बजेतिर घरबाट खेल्न निस्किएका तीनै बालबालिका पशु हाटबजार परिसरभित्र रहेको पानी जमेको खाल्डोमा पुगेका थिए। नुहाउने क्रममा उनीहरू डुबेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
अवास शेखको स्थायी घर रौतहट जिल्लाको जिगरवा भए पनि उनी करिब ३० वर्षदेखि गोलबजार–७ मा परिवारसहित बस्दै आएका थिए। कवाडी सामग्री संकलन गरेर जीविकोपार्जन गर्दै आएका उनको पाँच सन्तानमध्ये तीन जनाको एकै घटनामा मृत्यु भएपछि परिवार शोकमा डुबेको छ।
स्थानीयका अनुसार उक्त खाल्डो पशुहरूलाई पानी खुवाउने प्रयोजनका लागि बनाइएको थियो, जहाँ वर्षाको पानी जमेर गहिरो बनेको थियो।
घटनापछि स्थानीयवासी र सुरक्षाकर्मीको सहयोगमा तीनै जनालाई तत्काल उपचारका लागि अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।प्रहरीले घटनाको थप अनुसन्धान अघि बढाएको जनाएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे