२०८३ भाद्र २६, शुक्रबार



प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री मेहताले अस्पतालसँग २४ घण्टे स्पष्टीकरण माग गरिएको र अस्पतालबाट स्पष्टीकरण प्राप्त भइसकेको जानकारी दिइन् ।
घटनाको स्थलगत छानबिनका लागि नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सुप्रभात श्रेष्ठ र नैतिक समिति सदस्य डा. अजय शाहसहित पाँच सदस्यीय टोली राजविराज पुगिसकेको उनले बताइन्। स्वास्थ्य सेवा विभागका उपचारात्मक सेवा महाशाखा प्रमुख डा. पवनजंग रायमाझी पनि टोलीमा रहेका छन् । जिल्ला प्रशासन कार्यालय, सप्तरीले समेत छुट्टै छानबिन समिति गठन गरेको छ ।
अस्पतालको सेवामा के कमजोरी भयो र सेवाग्राही अस्पताल परिसरबाहिर पुग्नुपर्ने अवस्था किन सिर्जना भयो भन्ने विषय छानबिनबाट स्पष्ट हुने मन्त्री मेहताले बताइन् । घटनाका समयमा ड्युटीमा रहेका कर्मचारीलाई कामबाट हटाएर थप छानबिन अघि बढाइएको पनि उनले जानकारी दिइन् ।
सरकारले सरकारी स्वास्थ्य संस्थामा प्रसूति सेवा निःशुल्क गर्नुका साथै प्रसूति सेवाका लागि आउने–जाने यातायात खर्चसमेत उपलब्ध गराउँदै आएको उनले बताइन् । सरकारी स्वास्थ्य संस्थामा शुल्क मागिएमा वा गर्भवती महिलालाई सेवा दिन अस्वीकार गरिएमा कानुनअनुसार कारबाही हुने उनको भनाइ थियो। सुरक्षित मातृत्व हरेक आमाको अधिकार भएकाले कुनै पनि महिलाले स्वास्थ्य संस्थाको ढोकाबाहिर प्रसूति गर्नुपर्ने अवस्था आउन नहुने मन्त्री मेहताले बताइन्।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे