• मुख्य समाचार
  • समाचार
  • अर्थ/कृषि
  • सुरक्षा/अपराध
  • सूचना-प्रविधि
  • अन्तरवार्ता
  • मनाेरञ्जन
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
२०८३ कार्तिक २१, शनिबार
ट्रेन्डीङ्ग
मौसम भरतपुर महानगरपालिका राष्ट्रिय स्वतन्त्र पार्टी निर्वाचन आयोग नेपाली कांग्रेस गैँडाकोट नगरपालिका आईपीओ राशिफल
  • Preeti To Unicode
  • Unicode To Preeti
  • गृह
  • समाचार
  • नवलपुर बिशेष
    • गैँडाकोट नगरपालिका
    • देबचुली नगरपालिका
    • कावासोती नगरपालिका
    • मध्यबिन्दु नगरपालिका
    • विनयी-त्रिवेणी गाउँपालिका
    • बौदीकाली गाउँपालिका
    • बुलिङटार गाउँपालिका
    • हुप्सेकोट गाउँपालिका
  • शेयर बजार
    • आई.पी.ओ.
    • लाभांस
    • साधारण सभा
    • हकप्रद
  • अर्थ/कृषि
  • लोकसेवा
    • वस्तुगत
    • बिषयगत
  • राजनीति
  • शिक्षा
  • स्वास्थ्य
    • स्वास्थ्य टिप्स
    • कोरोना अपडेट
  • अन्य
    • कला/साहित्य
    • धर्म/संस्कृति
    • सूचना-प्रविधि
    • मनाेरञ्जन
    • खेलकुद
    • विचार
    • सुरक्षा/अपराध
    • राशिफल
    • नवलपुर टि.भी.
    • अर्न्तराष्ट्रिय
  • खोज
  • निर्वाचन१२
  • रुचाईएका

खोजी गर्नुहोस

in

निर्वाचन अपडेट

थप+
१

नवलपरासी पूर्वका ३४ उम्मेदवारमध्ये १८ जनाले खोले बैङ्क खाता

२०८२ फागुन १७, आईतबार
२

६३ जिल्लाका १३३ निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न

२०८२ फागुन २, शनिबार
३

नवलपुर जिल्लाका ३ जना उम्मेदवारको नाम बन्दसूचीबाट हटाईयो

२०८२ माघ २०, मंगलबार
४

आज उम्मेदवारको नामावली सार्बजनिक हुँदै

२०८२ माघ ८, बिहिबार
५

आज मनोनयन दर्ता हुँदै, यी हुन् उम्मेदवारले छुटाउनै नहुने कागजपत्र

२०८२ माघ ६, मंगलबार
६

एमालेमा ओलीको विरोध गर्नेलाई ‘नो टिकट’

२०८२ माघ ५, सोमबार
७

समानुपातिक बन्दसूचीका ३२१३ उम्मेदवारको नामावली सार्वजनिक

२०८२ माघ ५, सोमबार
८

१७५ उम्मेदवारले लिए बन्दसूचीबाट नाम फिर्ता

२०८२ पौष ३०, बुधबार
९

समानुपातिकको बन्दसूचीबाट आज नाम फिर्ता लिन सकिने

२०८२ पौष २८, सोमबार
१०

५ अन्तर्राष्ट्रिय र ४४ राष्ट्रिय संस्थाहरुलाई निर्वाचन पर्यवेक्षणको अनुमति

२०८२ पौष १, मंगलबार
११

उपनिर्वाचन अपडेटः कहाँ को विजयी ? (विवरणसहित)

२०८१ मंसिर १७, सोमबार
१२

स्थानीय तह उपनिर्वाचनको मतदान सुरु, ४१ पदका लागि ३७६ उम्मेदवार मैदानमा

२०८१ मंसिर १६, आईतबार

धेरै पढिएका

१

बाजुरामा वडा कार्यालयबाटै प्रशासनको सिफारिस, सदरमुकाम पुग्नुपर्ने झन्झट हट्यो

२०८३ आश्विन २९, बिहिबार
२

नेपालीले नोबेल साहित्य पुरस्कार कहिले पाउने??

२०८३ आश्विन २३, शुक्रबार
३

नेपानले गर्‍यो पौडेल, गान्धारी र डा. फुयाललाई पुरस्कार सहित सम्मान

२०८३ आश्विन २७, मंगलबार
४

क्युएफएक्स जलमाको तेस्रो हल आजदेखि सञ्चालनमा

२०८३ आश्विन ३०, शुक्रबार
५

गण्डकी सहितका तीन प्रदेशमा मेघगर्जनसहित बर्षा हुने

२०८३ आश्विन ३१, शनिबार
६

सिन्धुलीमा जिप सुनकोशी नदीमा खस्दा ३ जनाको मृत्यु, ३ बेपत्ता

२०८३ कार्तिक १, आईतबार
७

एमाले केन्द्रीय कमिटीमा १३ जना मनोनीत

२०८३ आश्विन २४, शनिबार
८

गण्डकी सहितका तीन प्रदेशमा मेघगर्जनसहित बर्षा हुने

२०८३ आश्विन २३, शुक्रबार
९

हुनमान ढोकास्थित दसैं घरमा पनि विधिवत रुपमा घटस्थापना गरियो

२०८३ आश्विन २५, आईतबार
१०

गण्डकी सहितका चार प्रदेशमा मध्यम बर्षाको सम्भावना

२०८३ आश्विन २९, बिहिबार
११

देशका अधिकांश स्थानमा मेघगर्जनसहित बर्षा हुने

२०८३ आश्विन २२, बिहिबार
१२

गण्डकी र कोशी प्रदेशका केही स्थानमा हल्का बर्षा हुने

२०८३ कार्तिक ८, आईतबार

नारायणीको सेरोफेरो: सभ्यता, समृद्धि र सङ्घर्षको गाथा

नवलपुर अनलाइनप्रकाशित मिति: २०८३ कार्तिक २१, शनिबार

  • १६ पटक पढिएको
  • – यादव घिमिरे

    हिमालको उच्च शिखरी गाथा, देवघाटको पावन आध्यात्मिक आस्था, बोटे-माझीको जीवन-सङ्घर्ष र सुस्ताको अदम्य देशभक्ति—यी तमाम आयामहरूलाई आफ्नो अतल गहिराइमा समेटेर नेपालको हृदयबाट बहने कञ्चन नारायणीको सुसेली, संस्कृति, समृद्धि र सङ्घर्षको एउटा प्रवाहपूर्ण यात्रामा निस्कौँ।

    प्राकृतिक सम्पदा, सांस्कृतिक धरोहर र आर्थिक समृद्धिको बलियो खम्बाका रूपमा राष्ट्रको मध्यभागबाट अविरल बगिरहेको यो नदी केवल पानीको बहाव मात्र होइन; यो त यस भूमिको सभ्यता, जीविकोपार्जन, जनआस्था र अद्वित्तीय जैविक विविधताको जीवन्त इतिहास हो।

    हिमालयको काखबाट कलकल ध्वनि गर्दै सुरु हुने र तराईका उर्वर फाँटहरूलाई अमृतरूपी जलले सिञ्चित गर्दै अघि बढ्ने नारायणीले नेपालको भौगोलिक, मानवीय र सांस्कृतिक विविधतालाई अत्यन्त मनमोहक ढङ्गले प्रस्तुत गर्दछ। यस नदीले बोकेको विगत, यसका किनारमा हुर्किएको संस्कृति र यसले कोरेको आर्थिक-राजनीतिक परिदृश्य निकै गहिरो र अर्थपूर्ण छ।

    बनावट र जलप्रणालीको विशाल रूप

    भौगोलिक आँखाले नियाल्दा नारायणी नदी सातवटा प्रमखु नदीहरूको एकीकृत स्वरूप हो, जसलाई लोकले ‘सप्तगण्डकी’ भनेर पूज्छ। मुस्ताङको ठिहीजस्तो उच्च हिमाली क्षेत्रबाट सङ्घर्ष गर्दै बगेर आउने कालीगण्डकी र गोसाइँकुण्डको अलौकिक क्षेत्रबाट यात्रा सुरु गर्ने त्रिशूली नदीको पावन सङ्गमस्थल देवघाटमा पुगेपछि मात्र यसले आफ्नो गौरवशाली नाम ‘नारायणी’ प्राप्त गर्दछ। पहाडी शृङ्खलाहरूलाई चिर्दै र विशाल खोँचहरू पार गर्दै जब यो नदी तराईको समथर मैदानमा ओर्लन्छ, तब यसको रूप निकै सन्तुलित, फराकिलो र मनमोहक देखिन्छ।

    चितवन र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जिल्लाको प्राकृतिक सिमाना कोर्ने यो नदी नेपालकै सबैभन्दा गहिरो जलधारा हो। नेपालको विशाल भूभागलाई सुजलाम् सुफलाम् बनाउँदै जब यो भारतको बिहार राज्यमा प्रवेश गर्दछ, जहाँ यसलाई स्नेहले ‘गण्डक’ नामले पुकारिन्छ। अन्ततः यो पवित्र गङ्गा नदीमा एकाकार हुन पुग्दछ। यसरी हिमालदेखि मैदानसम्मको यसको यात्राले नेपालको भूगोललाई मात्र जोडेको छैन, बरु अनेकौँ साना जलप्रणालीलाई आफूमा समाहित गर्दै एउटा विशाल सभ्यताको जग बसालेको छ।

    सांस्कृतिक, धार्मिक तथा ऐतिहासिक विरासत

    नारायणीको सेरोफेरो धार्मिक र आध्यात्मिक दृष्टिकोणले निकै उच्च र वन्दनीय छ। साक्षात् भगवान् विष्णुको नामबाट यसको नामकरण हुनुले नै यसको अलौकिक गरिमालाई स्पष्ट पार्दछ। कालीगण्डकी र त्रिशूलीको सङ्गमस्थल देवघाट धाम नारायणी सभ्यताको मुटु हो, जहाँ प्राचीन कालमा भगवान् शिव र विष्णुले निवास गरेको पावन मान्यता छ। यसैकारण यसलाई ‘आदिप्रयाग’ को रूपमा समेत श्रद्धा गरिन्छ।

    देवघाटमा दैनिक गुञ्जने वेद-वेदाङ्गको ध्वनि, भजनकीर्तनको शृङ्खला र साधुसन्तहरूको कठोर तपस्याले सिङ्गो वायुमण्डललाई आध्यात्मिक ऊर्जाले सुवासित बनाइदिन्छ। जीवनको उत्तराद्र्धमा मोक्षको अभिलाषा राख्दै यहाँ आउने वृद्धवृद्धाहरूका लागि नदी किनारका आश्रमहरू पवित्र आश्रयस्थल बनेका छन्। प्रत्येक वर्ष माघे सङ्क्रान्तिको अवसरमा यहाँ देश-विदेशबाट लाखौँ श्रद्धालु भक्तजनहरू स्नानका लागि ओइरिन्छन्, जसले नेपाली समाजको अटुट सांस्कृतिक एकतालाई झल्काउँछ।

    नारायणीको मुख्य स्रोत कालीगण्डकी भएकाले यस नदीको हरेक थोपा पानीमा शालिग्रामको पवित्रता समाहित छ। हिन्दू संस्कारमा साक्षात् विष्णुको अवतार मानिने शालिग्राम पत्थर यसै जलक्षेत्रको गौरव हो, जसले यस नदीलाई ‘हरिबोधा’ का रूपमा समेत चिनाउँछ। नदी किनारमा स्थापित हरिहर मन्दिरले शिव र विष्णु दुवै सम्प्रदायका भक्तहरूलाई एउटै आस्थाको केन्द्रमा ल्याएर अनुपम धार्मिक सहिष्णुताको उदाहरण प्रस्तुत गरेका छन्।

    त्यसैगरी नारायणी नदीको तल्लो तटीय क्षेत्र रामायणकालीन इतिहास र पुरातात्त्विक महत्त्वसँग जोडिएको छ। चितवन राष्ट्रिय निकुञ्जको दक्षिणमा अवस्थित प्राचीन वाल्मीकि आश्रममा महर्षि वाल्मीकिले रामायण महाकाव्यको रचना गरेका थिए भने माता सीताले आफ्ना जुम्ल्याहा छोराहरू लव र कुशलाई यहीँ जन्म दिएर हुर्काएकी थिइन्। यहाँ रहेका सीता पाताल प्रवेश गरेको भनिने विशेष स्थान (सीता पातानी), प्राचीन भग्नावशेष र लव-कुशको जन्मस्थलले नेपालको ऐतिहासिक उचाइलाई विश्वसामु चिनाउने सामर्थ्य राख्दछन्।

    हरिबोधनी एकादशी मेला र दीपदानको महाउत्सव

    नारायणी नदीको धार्मिक पहिचान र ऐतिहासिक गरिमालाई प्रगाढ बनाउने सबैभन्दा मुख्य पर्व हरिबोधनी एकादशी (ठूलो एकादशी) मेला हो। हिन्दू धर्मशास्त्र अनुसार आषाढ शुक्ल एकादशी (हरिशयनी एकादशी) का दिन क्षीरसागरमा शेषनागको शय्यामा सुतेका भगवान् विष्णु चार महिनाको योगनिद्रापछि यसै कार्तिक शुक्ल एकादशीका दिन ब्युँझने भएकाले यसलाई ‘हरिबोधनी’ भनिएको हो। यस चार महिनाको अवधिलाई ‘चतुर्मास’ भनिन्छ, जसमा मङ्गल कार्यहरू रोकिन्छन् र यसै दिनदेखि पुनः शुभ कार्यहरूको थालनी हुन्छ। नारायणी नदीको क्षेत्रमा यस मेलाको स्थानीय र भौगोलिक आकर्षण निकै व्यापक छ:

    देवघाट धाम (आदिप्रयाग): हरिबोधनी एकादशीका दिन देवघाटको महत्त्व अद्वित्तीय रहन्छ। तनहुँ, चितवन र नवलपरासीको सङ्गमस्थल मानिने यस धाममा भजनकीर्तन, अखण्ड धुनी र वेदपाठको गुञ्जनले अलौकिक वातावरण सिर्जना गर्छ। यहाँ टाढा-टाढाबाट आएका भक्तजनहरू रातभर जाग्राम बसेर बाँसको लिङ्गो गाडी तुलसीको विवाह गर्छन् र बिहान सबेरै नारायणीको त्रिवेणी जलमा स्नान गरी भगवान् हरिहरको दर्शन गर्छन्।

    नारायणगढ र गैँडाकोट (नारायणी नदी किनार): नारायणगढतर्फको मङ्गलपुर, लायन्सचोक र गैँडाकोटतर्फका नदी घाटहरूमा यो मेला उत्सवका रूपमा देखिन्छ। हालका वर्षहरूमा यहाँ गरिने ‘नारायणी नदी आरती’ सँगै एकादशीका दिन विशेष महाआरतीको आयोजना गरिन्छ। साँझपख भक्तजनहरूले आफ्ना पितृहरूको मोक्ष र परिवारको कल्याणका लागि हजारौँको सङ्ख्यामा दुना-टपरीमा बत्ती बालेर नदीमा बगाउँछन् (दीपदान गर्छन्)। यस समयमा वारि नारायणगढ र पारि गैँडाकोटको सिङ्गो नदी क्षेत्र बलिरहेको सुनौलो सडकजस्तै दैदीप्यमान र मनमोहक देखिन्छ।

    विनयी त्रिवेणी धाम (गजेन्द्र मोक्ष दिव्य धाम): नवलपरासीको दक्षिण सिमानामा अवस्थित त्रिवेणी घाटमा पनि यो मेला ऐतिहासिक रूपमा लाग्ने गर्छ। वराह पुराणमा उल्लेख भए अनुसार भगवान् विष्णुले गोहीको चङ्गालबाट हात्ती (गजेन्द्र) लाई बचाएको पवित्र स्थल यही भएकाले यहाँ स्नान गरी दीपदान गर्नाले मोक्ष प्राप्त हुने जनविश्वास छ। यहाँ नेपालका सीमावर्ती जिल्लाहरू मात्र नभई भारतको बिहार र उत्तर प्रदेशबाट समेत लाखौँ श्रद्धालुहरूको घुइँचो लाग्ने गर्दछ।

    तुलसी विवाह र रैथाने बजार: यस दिन घरघरमा मठ सिँगारेर धार्मिक विधिपूर्वक तुलसीको विवाह (दामोदरसँग विवाह) गरिने भए तापनि नारायणी किनारका घाटहरूमा सामूहिक रूपमा डोली भित्र्याउने र उत्सव मनाउने गरिन्छ। नदी किनारमा लाग्ने स्थानीय मेलाले यस क्षेत्रका बोटे, माझी र थारू समुदायका रैथाने हस्तकला, बाँसका सामग्री, उखु, पिँडालु, सखरखण्ड जस्ता मौसमी कृषि उत्पादनको ठूलो व्यापारिक बजारलाई पनि जीवन्तता दिँदै आएको छ।

    यसरी ऐतिहासिक र स्थानीय सन्दर्भले भरिएको एकादशी मेला केवल एउटा धार्मिक अनुष्ठान मात्र नभएर मानिसहरूमा आपसी भाइचारा, सांस्कृतिक पुनर्जागरण र आन्तरिक एवं कूटनीतिक धार्मिक पर्यटन प्रवर्द्धन गर्ने नारायणी सभ्यताको एउटा उत्सवमय विम्ब हो।

     

    त्रिवेणी धाम: तीन नदी र महागाथाको सङ्गम

    नारायणी नदी जब पहाडी शृङ्खलाहरू पार गरी नेपाल र भारतको सिमाना नजिक पुग्दछ, तब नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिकामा यसले अर्को एउटा अद्भुत धार्मिक र भौगोलिक स्वरूप धारण गर्दछ, जसलाई हामी ‘त्रिवेणी धाम’ भनेर चिन्दछौँ। सातवटा नदी मिलेर बनेको विशाल नारायणी नदीमा यसै स्थानमा आएर सोनभद्र (सोना) र तमसा (पचाहा) नामका दुई साना तर ऐतिहासिक नदीहरू समाहित हुन्छन्। तीनवटा पवित्र नदीहरूको यो सङ्गम (त्रिवेणी सङ्गम) लाई नेपालको हरिद्वार वा बनारसको रूपमा समेत श्रद्धा गरिन्छ।

    पौराणिक ग्रन्थहरूका अनुसार, यस पवित्र क्षेत्रको इतिहास मानव सभ्यता जत्तिकै पुरानो छ। वराह पुराणमा उल्लेख भए अनुसार, साक्षात् भगवान् विष्णुले यही नारायणीको जलक्षेत्रमा गोही (ग्राह) को चङ्गालमा परेका हात्तीका राजा (गजेन्द्र) लाई बचाएर मुक्ति दिएका थिए, जसका कारण यस भूमण्डललाई ‘गजेन्द्र मोक्ष दिव्य धाम’ पनि भनिन्छ। धार्मिक आस्थाका रूपमा त्रिवेणी सङ्गममा स्नान गर्नाले सम्पूर्ण पापबाट मुक्ति मिली मोक्ष प्राप्त हुने जनविश्वास छ।

     

    प्रत्येक वर्ष माघे औँसीको अवसरमा यहाँ विशाल मेला लाग्ने गर्दछ, जहाँ नेपाल र भारतका विभिन्न कुनाबाट लाखौँ श्रद्धालुहरू डुबुल्की लगाउन आउँछन्। यो मेला प्राचीन कालदेखि नै दुवै देशका व्यापारीहरूका लागि एउटा ठूलो साझा बजार पनि रहँदै आएको छ। हालका वर्षहरूमा यस क्षेत्रमा आधुनिक सिसा महल (शिशमहल) र विभिन्न कलात्मक मन्दिरहरूको निर्माण गरिएपछि यसको पर्यटकीय र सांस्कृतिक आकर्षण झनै चुलिएको छ।

    आदिम सभ्यता र वाल्मीकि आश्रम

    यसै त्रिवेणी धामबाट नारायणी नदी पार गरेपछि चितवन राष्ट्रिय निकुञ्जको घना जङ्गलभित्र रामायणकालीन इतिहास बोकेको प्राचीन वाल्मीकि आश्रम पुग्न सकिन्छ। महर्षि वाल्मीकिले रामायण महाकाव्यको रचना गरेको यो त्यही तपोभूमि हो, जहाँ माता सीताले आफ्नो देश निकालाको समयमा आश्रय लिएकी थिइन्। माता सीताले आफ्ना जुम्ल्याहा छोराहरू लव र कुशलाई यहीँ जन्म दिएर हुर्काएकी थिइन्।

    यहाँ रहेका सीता पातानी (माता सीता धर्तीमा समाहित भएको स्थल), प्राचीन भग्नावशेष, लव-कुशको जन्मस्थल र हनुमानको बसेको मूर्तिले नेपालको ऐतिहासिक र पुरातात्त्विक उचाइलाई विश्वसामु चिनाउने सामर्थ्य राख्दछन्। त्रिवेणी र वाल्मीकि आश्रम दुवैलाई एउटै झोलुङ्गे पुलले पूर्ण रूपमा जोड्न सके यस क्षेत्रलाई एउटा महान् धार्मिक करिडोरका रूपमा विकास गर्न सकिने सम्भावना अझै जीवन्त छ।

     

    नारायणीका अनन्य सन्तान र बोटे-माझी संस्कृति

    नारायणी नदीको इतिहास यहाँ बग्ने पानीसँग मात्र होइन, यसको किनारमा शताब्दीऔँदेखि सुख-दुःख साट्दै आएका बोटे र माझी समुदायको जीवनगाथासँग समानान्तर रूपमा अघि बढेको छ। तिनीहरू नदीका यस्ता रैथाने सन्तान हुन्, जसको जन्म, जीविकोपार्जन, संस्कृति र मृत्युसमेत नारायणीकै लहरहरूमा बाँधिएको हुन्छ।

    आधुनिक सडक र पक्की पुलहरू निर्माण हुनुभन्दा धेरै अघि, जब यातायातको कुनै आधुनिक साधन थिएन, माझी र बोटे समुदाय नै नारायणी नदीका अघोषित सञ्चालक र भरपर्दा पहरेदार थिए। उनीहरूले काठको एउटै विशाल मुढोलाई बडो मिहिनेतका साथ खोपेर बनाइने ‘एककुरे ढुङ्गा’ खियाएर यात्रीहरूलाई सुरक्षित रूपमा नदी पार गराउँथे, जसलाई रैथाने भाषामा ‘खेवा’ भनिन्छ। नदीको बहाव, यसका अदृश्य घुम्तीहरू र पानीको गहिराइलाई बोटे र माझीहरूले जति गहिरोसँग बुझेका छन्, त्यति अरू कसैले बुझ्न सक्दैन।

    बल्छी, जाल र बाँसका परम्परागत औजारहरूको सहायताले माछा मार्नु उनीहरूको पुर्ख्यौली पेसा हो, जसमा उनीहरू प्रकृतिको नियमलाई सम्मान गर्दै केवल आफ्नो छाक टार्नका लागि मात्र नदीको उपयोग गर्दछन्। यसका साथै बोटे समुदायमा नदीको बालुवाबाट सुन चाल्ने एउटा अद्भुत र ऐतिहासिक सीप रहेको छ, जुन वर्षायाम सकिएपछि नदी किनारमा काठको विशेष भाँडो (डोट्याङ) प्रयोग गरेर प्रदर्शन गरिन्छ।

    उनीहरूको धार्मिक र सामाजिक चेतना पनि जल र प्रकृतिकै वरिपरि घुम्छ। नदीमा ढुङ्गा खियाउनु वा माछा मार्न निस्कनुअघि उनीहरू नदीलाई ‘जलदेवी’ वा ‘गङ्गा माई’ का रूपमा पूजा गर्दछन्, ताकि नदीले उनीहरूलाई सुरक्षित राखोस् र जीविकोपार्जनको स्रोत दिइरहोस्। उनीहरूको मौलिक लोकगीत र लोककथाहरूमा माझी दाइको सङ्घर्ष र नदीका छालहरूको स्वर जीवन्त रूपमा सुन्न पाइन्छ।

    तर वर्तमान समयमा आधुनिकता र कडा संरक्षण नीतिको चेपुवामा परेर यो परम्परागत जीवनशैली बिस्तारै सङ्कटमा पर्दै गएको छ। नदीमा पक्की पुलहरू बनेपछि मानिसहरूलाई ढुङ्गा चढाउने पुर्ख्यौली पेसा हराउँदै गएको छ भने चितवन राष्ट्रिय निकुञ्जको कडा नियमका कारण नदीमा स्वतन्त्र रूपमा माछा मार्ने वा जङ्गलको स्रोत उपयोग गर्ने अधिकार खुम्चिएको छ। यसले गर्दा नयाँ पुस्ताका युवाहरू शिक्षा र वैदेशिक रोजगारीतर्फ मोडिन बाध्य भएका छन्, जसले उनीहरूको आर्थिक अवस्था अवस्थामा त ठूलो परिवर्तन भएको छ तर सुन चाल्ने र काठको ढुङ्गा बनाउने जस्ता रैथाने ज्ञान र सांस्कृतिक पहिचान भने इतिहासको पानामा सीमित हुने खतरा बढेको छ।

     

    आर्थिक समृद्धि, पर्यटन र ‘रिभरफ्रन्ट‘ अर्थतन्त्र

    आधुनिक परिप्रेक्ष्यमा नारायणी नदीको सेरोफेरो नेपालको मध्यभागकै सबैभन्दा ठूलो आर्थिक र व्यावसायिक केन्द्रका रूपमा रूपान्तरित भएको छ। यस नदीले यस क्षेत्रको कृषि, यातायात, सहरीकरण र आधुनिक पर्यटन उद्योगमा क्रान्तिकारी परिवर्तन ल्याएको छ। चितवन र नवलपरासीको उर्वर भूमिलाई नेपालको अन्न भण्डार बनाउन नारायणीको पानीले अमूल्य सिँचाइ प्रदान गरेको छ। राष्ट्रिय गौरवको ‘नारायणी लिफ्ट सिँचाइ आयोजना’ मार्फत नदीको पानीलाई आधुनिक प्रविधिबाट पम्प गरी तराईका फाँटहरूमा पुर्‍याइएपछि यस क्षेत्रमा व्यावसायिक तरकारी खेती, धान र मकै उत्पादनमा अभूतपूर्व क्रान्ति नै आयो।

    पर्यटनको पाटोमा हेर्ने हो भने विगत केही वर्षयता नारायणगढ र गैँडाकोट क्षेत्रको नदी किनारको स्वरूप पूर्ण रूपमा बदललिएको छ। स्थानीय तह र निजी क्षेत्रको ठूलो लगानीमा नदी किनारलाई आकर्षक पार्क र हरियाली क्षेत्रका रूपमा विकास गरिएको छ, जसलाई धेरैले चितवनको आफ्नै ‘सी-बीच’ का रूपमा समेत चित्रण गर्दछन्। साँझको समयमा यहाँ शीतल हावा खान र मनमोहक सूर्यास्त अवलोकन गर्न मानिसहरूको ठूलो घुइँचो लाग्छ।

    नदीको विशाल छातीमा सञ्चालन हुने व्यावसायिक मोटरबोट र मिनी क्रुजसिपले जल पर्यटनको नयाँ क्षितिज उघारेका छन्, जसले स्थानीय स्तरमा व्यवसाय र रोजगारीका सयौँ अवसर सिर्जना गरेका छन्। नदी किनारमा बनारसको शैलीमा सुरु गरिएको भव्य ‘नारायणी नदी आरती’ ले यहाँको वातावरणमा धार्मिक र सांस्कृतिक सुगन्ध थपेको छ, जसका कारण रात्रिकालीन अर्थतन्त्रले पनि ठूलो प्रोत्साहन पाएको छ।

    भौगोलिक रूपमा नारायणी नदीमाथि बनेको पुलले पूर्वी र पश्चिमी नेपाललाई जोड्ने ‘लाइफलाइन’ को काम गरेको छ। यसै पुलको सहजताका कारण नदीको वारि र पारि रहेका चितवनको नारायणगढ र नवलपुरको गैँडाकोट सहरहरू एकापसमा परिपूरक बन्दै द्रुत गतिमा विस्तार भइरहेका छन्। नारायणगढ बजार आज मुलुककै प्रमुख व्यावसायिक हब बन्नुमा यसको नदी किनारको रणनीतिक अवस्थिति र यातायातको सुगमता नै मुख्य कारक हो।

    यसका साथै यो नदी चितवन राष्ट्रिय निकुञ्जको पारिस्थितिक प्रणालीको मेरुदण्ड हो, जहाँ पाइने दुर्लभ घडियाल गोही, मगर गोही र गङ्गेटिक डल्फिन जस्ता जलचरहरू हेर्न विश्वभरिबाट पर्यापर्यटकहरू आउने गर्दछन्। नदीमा गरिने ढुङ्गा सफारीले सौराहा र अमलटारी जस्ता होमस्टे र होटल व्यवसायलाई बलियो आर्थिक जग प्रदान गरेको छ।

    भू-राजनीतिक आयाम: गण्डक सम्झौता र सुस्ताको कथा

    नारायणी नदी केवल आन्तरिक समृद्धि र संस्कृतिको आधार मात्र होइन, यो नेपाल र भारतबिचको कूटनीतिक, आर्थिक र सीमा सम्बन्धको एउटा निकै संवेदनशील कडी पनि हो। इतिहासको पाना पल्टाउँदा यो नदी द्विपक्षीय सम्झौता र सीमा विवादका कारण पटक-पटक राष्ट्रिय राजनीति र अन्तर्राष्ट्रिय कूटनीतिको केन्द्रमा रहँदै आएको देखिन्छ।

    नेपाल र भारतबिच नारायणी नदीको पानी उपयोग गर्ने विषयमा सन् १९५९ मा भएको ऐतिहासिक ‘गण्डक सम्झौता’ र पछि सन् १९६४ मा भएको यसको संशोधन यसैको एउटा पाटो हो। यसै सम्झौता अन्तर्गत वाल्मीकिनगर नजिकै गण्डक ब्यारेजको निर्माण गरियो, जसको मुख्य उद्देश्य दुवै देशका सीमावर्ती क्षेत्रमा सिँचाइ र जलविद्युत्को विकास गर्नु थियो।

    तर यो सम्झौतालाई लिएर नेपालमा सधैँ एउटा असन्तुष्टि र असमानताको बहस चलिरह्यो। ब्यारेजको निर्माणबाट भारततर्फ विशाल भूभाग सिञ्चित हुँदा नेपालको भागमा परेका नहरहरूले प्रतिबद्धता अनुसार पर्याप्त पानी पाउन नसकेको गुनासो र तथ्यहरू अझै पनि जीवन्तै छन्। अझ दुःखद कुरा, वर्षायाममा मनसुनको भीषण बाढी आउँदा गण्डक ब्यारेजका ढोकाहरू समयमै नखोलिदिँदा नवलपरासीका तटीय क्षेत्र र नेपाली गाउँहरू हरेक वर्ष डुबान र कटानको चपेटामा परेर ठूलो मानवीय तथा आर्थिक सङ्कट बेहोर्न बाध्य छन्।

    यस भू-राजनीतिको सबैभन्दा पीडादायी र संवेदनशील पाटो भनेको सुस्ता क्षेत्रको सीमा विवाद हो। सन् १८१६ को सुगौली सन्धिले नारायणी नदीलाई नेपाल र भारतबिचको प्राकृतिक सीमा नदी स्वीकार गरेको थियो। तर प्रकृति अपरम्पार र परिवर्तनशील छ; नारायणी नदीले समयको गतिसँगै बिस्तारै पश्चिमतर्फ आफ्नो बहाव मार्ग परिवर्तन गर्दै लग्यो। नदीले नेपाली भूभाग काट्दै अघि बढेपछि पहिले नदीको पश्चिममा रहेको नेपाली गाउँ सुस्ता बिस्तारै भौगोलिक रूपमा नदीको पुर्व वा पारिपट्टि पर्न गयो। यसै प्राकृतिक परिवर्तनको फाइदा उठाउँदै भारतीय पक्षले नदीको नयाँ बहावलाई नै सीमा रेखा मान्नुपर्ने दाबी गर्दा नेपाली भूमि अतिक्रमणको चपेटामा पर्‍यो।

    नेपालले सुगौली सन्धिको ऐतिहासिक नक्सा र नदीको पुरानो बहावलाई सीमाको अकाट्य आधार मान्नुपर्ने अडान राख्दै आएको छ। नदीको यही धार परिवर्तनका कारण सुस्ताका रैथाने नेपाली नागरिकहरूले आफ्नै जन्मभूमिमा खेतीपाती गर्न, बस्न र हिँडडुल गर्न भारतीय सीमा सुरक्षा बलको अवरोध र सास्तीखेप्नुपरेको छ। यस्तो कठिन परिस्थिति र राज्यको कमजोर उपस्थितिका बिच पनि सुस्तावासीले ‘सुस्ता बचाउ अभियान’ मार्फत आफ्नो नेपाली पहिचान र माटोको रक्षाका लागि दशकौँदेखि गरिरहेको वीरतापूर्ण सङ्घर्ष नारायणी सभ्यताको एउटा गौरवमय र भावनात्मक इतिहास हो।

     

    विद्यमान चुनौती र दिगो भविष्यको मार्ग

    नारायणी नदीको सेरोफेरो जति सुन्दर, सांस्कृतिक रूपमा धनी र आर्थिक रूपमा सम्पन्न छ, वर्तमान समयमा यसले त्यत्तिकै गम्भीर र बहुआयामिक चुनौतीहरूको पनि सामना गरिरहेको छ। बढ्दो आधुनिकता, अव्यवस्थित सहरीकरण र औद्योगिकीकरणका कारण यो अमूल्य प्राकृतिक उपहार बिस्तारै प्रदूषित र कुरुप बन्दै गएको छ।

    नदीको माथिल्लो तटीय क्षेत्र र किनारमा स्थापना भएका उद्योगहरूबाट निस्कने विषाक्त रासायनिक फोहोर र सहरको ढल बिनाकुनै प्रशोधन सिधै नदीमा मिसाउनाले पानीको गुणस्तर द्रुत गतिमा खस्कँदै गएको छ। यस प्रदूषित पानीले देवघाट जस्तो पवित्र धार्मिक क्षेत्रको आध्यात्मिक शुद्धतालाई त धमिलो बनाएको छ नै, साथै नदीमा आश्रित रैथाने माछा र विश्वकै दुर्लभ घडियाल गोही जस्ता संवेदनशील जलचरहरूको जीवनलाई समेत गम्भीर सङ्कटमा धकेलेको छ।

    यसैगरी क्रसर उद्योगहरू र तस्करहरूद्वारा नदीजन्य पदार्थहरू जस्तै ढुङ्गा, गिट्टी र बालुवाको जथाभाबी र अवैध दोहन अर्को ठूलो चुनौतीका रूपमा खडा भएको छ। नदीको छाती चिरेर गरिने यस्तो अव्यवस्थित उत्खननले नदीको प्राकृतिक बहाव र मार्गलाई खल्बलाइदिएको छ, जसका कारण नदीका किनारहरू कमजोर भई वर्षायाममा तटीय क्षेत्रका बस्तीहरूमा भीषण बाढी र भूक्षयको जोखिम अर्बौँको आर्थिक क्षतिसहित निम्तिने गरेको छ।

    निष्कर्ष

    समग्रमा, नारायणी नदीको सेरोफेरोले नेपालको प्राचीन आध्यात्मिक संस्कार र आधुनिक भौतिक समृद्धिको एउटा अनुपम सङ्गमलाई पूर्ण रूपमा प्रतिनिधित्व गर्दछ। देवघाटको पवित्र शङ्खध्वनि, बोटे र माझी समुदायको पुर्ख्यौली जल-कौशल, सुस्तावासीको अटुट देशभक्ति, एकादशी मेलामा देखिने दीपदानको अद्भुत दृश्य र नारायणगढ किनारमा गुञ्जने मोटरबोटको आवाज सबै यस क्षेत्रका जीवन्त र अभिन्न अङ्ग हुन्। यो नदी केवल पानीको विशाल भण्डार मात्र नभएर नेपाली सभ्यताको गौरवशाली इतिहास र आर्थिक रूपान्तरणको एउटा भरपर्दो महामार्ग हो।

    त्यसैले, यस उपहारको मर्यादा, पवित्रता र जलसम्पदाको संरक्षण गर्नु आजको पुस्ताको परम कर्तव्य र राज्यको मुख्य दायित्व हो। नदीलाई प्रदूषणमुक्त राख्ने कडा नीति-नियमकोपालना, जैविक विविधताको रक्षा, तटबन्ध निर्माण गरी बाढी र डुबानको स्थायी नियन्त्रण तथा नेपालको हित अनुकूल सुस्ता सीमा विवादको कूटनीतिक समाधान खोज्न आवश्यक छ। यसो गर्न सकिएमा मात्र नारायणी नदी र यसको समग्र सेरोफेरो आउने अनेकौँ पुस्ताका लागि पनि नेपालकै सबैभन्दा नमुना, समृद्ध र सुरक्षित आर्थिक-सांस्कृतिक करिडोरका रूपमा अक्षुण्ण रहिरहनेछ।

     

     

    यादव घिमिरे

    पूर्व निर्देशक, काठमाडौँ महानगरपालिका

    हाल: कलंकी १४, काठमाडौँ

    [email protected]

    मोबाइल: ९८४१३६९९२८

     

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    प्रतिक्रिया दिनुहोस
    मुख्य समाचार सम्बन्धि थप
  • तिहार र छठमा विद्युत आपूर्ति प्रभावित हुन नदिन विद्युत प्राधिकरणको विशेष तयारी

  • यी हुन् रोनाल्डोका खेल जीवनका सबैभन्दा अविस्मरणीय १२ क्षण

  • यू-१९ एशिया कपमा आज नेपालले भारतको सामना गर्दै

  • गण्डकी सहितका चार प्रदेशमा हल्का बर्षाको सम्भावना

  • समाचार
  • १

    नारायणीको सेरोफेरो: सभ्यता, समृद्धि र सङ्घर्षको गाथा
    २०८३ कार्तिक २१, शनिबार

  • २

    तिहार र छठमा विद्युत आपूर्ति प्रभावित हुन नदिन विद्युत प्राधिकरणको विशेष तयारी
    २०८३ कार्तिक २१, शनिबार

  • ३

    यी हुन् रोनाल्डोका खेल जीवनका सबैभन्दा अविस्मरणीय १२ क्षण
    २०८३ कार्तिक २०, शुक्रबार

  • ४

    यू-१९ एशिया कपमा आज नेपालले भारतको सामना गर्दै
    २०८३ कार्तिक २०, शुक्रबार

  • ५

    गण्डकी सहितका चार प्रदेशमा हल्का बर्षाको सम्भावना
    २०८३ कार्तिक २०, शुक्रबार

  • ६

    प्रधानमन्त्रीले लिए सुरक्षा निकायका प्रमुखसँग ब्रिफिङ
    २०८३ कार्तिक १९, बिहिबार

  • ७

    संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्तो छ कार्यसूची
    २०८३ कार्तिक १९, बिहिबार

  • ८

    गण्डकी सहितका तीन प्रदेशमा हल्का बर्षा हुने
    २०८३ कार्तिक १९, बिहिबार

  • ९

    बझाङमा जीप दुर्घटना: दुई जनाको मृत्यु, ६ जना गम्भीर घाइते
    २०८३ कार्तिक १८, बुधबार

  • १०

    ग्रेसले वार्षिकोत्सवको अवसरमा चितवन र नवलपुरका विभिन्न क्षेत्रमा सहयोग सामग्री हस्तान्तरण गर्ने
    २०८३ कार्तिक १८, बुधबार

  • नवलपुर बिशेष
    १

    रास्वपा नवलपुरको सभापतिमा दोमन बहादुर भण्डारी विजयी

    नवलपुर अनलाईन
    २

    नवलपुरका ८ स्थानीय तहमा ६ करोड ९६ लाख ४३ हजार रुपैँया बेरुजु

    नवलपुर अनलाईन
    ३

    कावासोतीबाट दुई बालक बेपत्ता, खोजी गरिदिन परिवारको आग्रह

    नवलपुर अनलाईन
    ४

    गैंडाकोटको आधारभूत शिक्षा परिक्षा (कक्षा ८) मा सहभागी १५४३ जना विद्यार्थीमध्ये ५०५ फेल!!

    नवलपुर अनलाईन
    ५

    नवलपुरको हुप्सेकोटमा मापसे गरि सुतेका एक युवक मृत फेला

    नवलपुर अनलाईन
    ६

    भोलिदेखि गैंडाकोट नगरपालिकाबाट सम्पूर्ण सेवाहरु सुचारू हुने

    गैँडाकोट नगरपालिका
    ७

    नवलपुरमा सवारी दुर्घटनामा परि एक जनाको मृत्यु , २ जना घाइते

    नवलपुर अनलाईन
    ८

    नवलपुरको बौदीकालीमा बल्ल पुग्यो बिजुली, स्थानीय हर्षित

    नवलपुर अनलाईन

    ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित

    नवलपुर अनलाइन डट कम का लागि

    कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०

    सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०

    प्रेस काउन्सिल सु.प्र.नं. ३७५४

    गैंडाकोट, नवलपुर

    ९८४११८१७२६

    [email protected]

    हाम्रो टीम

    संचालक: प्रकाश भण्डारी

    सम्पादक: अनिता गैरे

    साईट मेनु

    • गृह पृष्ठ
    • गोपनियता
    • बिज्ञापनको लागि
    • सम्पर्क
    • हाम्रो टीम
    • हाम्रो बारेमा
    • Preeti To Unicode
    • Unicode To Preeti
    • निर्वाचन अपडेट

    स्रोतहरू खुलाइएका बाहेक नवलपुर अनलाइनमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोरियस मिडिया प्राइभेट लिमिटेडका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

    Copyright © 2022 Glorious Media Pvt. ltd., All Rights Reserved. Designed by: GOJI Solution