२०८३ आश्विन ७, बुधबार



उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार अपरान्ह न्युयोर्क जान लागेका प्रधानमन्त्री शाहले औपचारिक विदाईमा यसअघि जस्तो औपचारिकता नहुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको हो ।
यसक्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भीआईपी लाउन्जमा परम्परागत औपचारिक बिदाइ समारोहको कुनै कार्यक्रम नहुने बताइएको छ । प्रधानमन्त्री शाह बालुवाटारबाट सिधै विमानस्थल जाने र भीआइपी वे हुँदै विमानतर्फ जानेछन् । प्रधानमन्त्री शाह साँझ ७ बजे कतार एयरवेजमार्फत न्यूयोर्क प्रस्थान गर्ने कार्यक्रम रहेको छ ।
विगतमा प्रधानमन्त्रीको विदेश भ्रमणमा जाँदा विमानस्थलमा मन्त्री, सुरक्षा निकायका प्रमुख, उच्चपदस्थ कर्मचारी, विदेशी कूटनीतिज्ञ तथा राजनीतिक दलका नेताहरु विमानस्थल पुग्ने गरेर बिदाई गर्ने परम्परा रहेको थियो । त्यस्तै, प्रधानमन्त्रीको विदाइमा नेपाली सेनाले गार्ड अफ अनरसमेत दिने परम्परा रहेको थियो । यस पटक भने प्रधानमन्त्रीको बिदाईका लागि कसैलाई निमन्त्रणा नगरिएको बुझिएको छ ।
भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण देश शोकमा रहेकाले प्रधानमन्त्रीकै इच्छा अनुसार औपचारिक कार्यक्रम नराखिएको बताइएको छ ।
प्रधानमन्त्री शाहले महासभाको उच्चस्तरीय सत्रलाई असोज ८ गते (सेप्टेम्बर २४) मा सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यसक्रममा उनले राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । प्रधानमन्त्री शाह यही असोज १० गते स्वदेश फर्किने तालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे