२०८३ आश्विन ३, शनिबार



चितवन, नवलपुर लगायतका १२ विद्यालयका २१६ विद्यार्थी सहभागी कार्यक्रममा संयुक्त राष्ट्रसंघीय अभ्यासमार्फत अन्तर्राष्ट्रिय सम्बन्ध, कूटनीति, नेतृत्व, सार्वजनिक वक्तृत्व तथा समसामयिक विश्वका विविध विषयमा अध्ययन, अनुसन्धान र छलफल गरिनेछ । छवटा समितिमार्फत छलफलपछि विभिन्न प्रस्ताव तथा सङ्कल्प पारित गरिने आयोजकले जनाएको छ ।
उद्घाटन सत्रमा पत्रकार विवेक पोखरेलले सामाजिक सञ्जाल समाचारको प्रमुख स्रोत बन्दै जाँदा पत्रकारितासामु नयाँ चुनौती थपिएको बताए । सामाजिक सञ्जालमा मात्रै निर्भर हुँदा गलत तथा भ्रमपूर्ण सूचना फैलिने जोखिम बढेको उनको भनाइ थियो । विगतमा पत्रकारले सूचनाको पुष्टि गरेर मात्र समाचार प्रकाशन तथा प्रसारण गर्ने गरेको उल्लेख गर्दै उनले अहिले घटनाभन्दा ‘भाइरल कन्टेन्ट’लाई प्राथमिकता दिने प्रवृत्ति बढेको बताए ।
बेटर चितवनका संस्थापक अध्यक्ष सागर कार्कीले ‘एल निनो’ र ‘ला निनो’का कारण हुने अत्यधिक गर्मी, जाडो तथा परिवर्तनशील वर्षाले मानव जीवनमा पार्ने प्रभावबारे चर्चा गरे । यस्ता जलवायुजन्य घटनाले खाद्यान्न अभाव, स्वास्थ्य जोखिम, बाढी, खडेरीलगायतका समस्या निम्त्याउन सक्ने उनले बताए ।
चितवन मेडिकल कलेजका मुटुरोग विशेषज्ञ प्रा.डा. अनिल आचार्यले विकसित तथा विकासशील देशबीच स्वास्थ्य सेवाको पहुँचमा ठूलो अन्तर रहेको बताए । विकसित देशमा अत्याधुनिक प्रविधि तथा विशेषज्ञ सेवा सहज भए पनि नेपालजस्ता देशमा आधारभूत स्वास्थ्य सेवासमेत चुनौतीपूर्ण रहेको उनको भनाइ थियो । पेटेन्ट अधिकार तथा उच्च लागतका कारण अत्याधुनिक स्वास्थ्य प्रविधि र औषधि विकासशील देशमा ढिलो पुग्ने गरेको उनले बताए ।
सेवानिवृत्त मेजर शैलजा श्रेष्ठ (केसी)ले अन्तर्राष्ट्रिय शान्ति तथा सुरक्षासँगै साइबर सुरक्षा अहिलेको महत्वपूर्ण चुनौती भएको बताइन् । साइबर आक्रमणबाट अस्पताल, विद्युत् आपूर्ति प्रणाली तथा शिक्षण संस्थाका प्रणाली प्रभावित हुन सक्ने उल्लेख गर्दै उनले बलियो साइबर प्रतिरक्षा र विपद् प्रतिकार्य प्रणाली आवश्यक रहेको बताइन् ।
डेजी इङ्ग्लिस स्कुलका प्रधानाध्यापक प्रेम रिमालले मोडल युनाइटेड नेसन्सले भविष्यको नेतृत्व विकासमा योगदान पु¥याउने बताए । नेपालका विभिन्न भूगोल, समुदाय र समस्याबारे विद्यार्थीले बुझ्नुपर्नेमा जोड दिँदै उनले कार्यक्रमलाई थप समावेशी बनाउनुपर्ने धारणा राखे । उनले आठ अर्ब जनसंख्या भएको विश्वमा लाखौँ महिला तथा बालबालिकाले मान्छे भेट्न नसकेको बताए । उनले कुनै पनि कानुन आममानिसको हितविरुद्ध भएमा त्यसको विरोध गर्नुपर्ने बताए ।
आदर्श गृहकी अध्यक्ष तथा नेपाल महिला संघकी केन्द्रीय अध्यक्ष मीना खरेलले डिजिटल हिंसा बढ्दो चुनौतीका रूपमा देखिएको बताइन् । अनलाइन माध्यमबाट बालबालिका बेचबिखन तथा यौन हिंसाजस्ता जोखिम बढिरहेको उल्लेख गर्दै उनले विद्यालय तहदेखि नै डिजिटल साक्षरतालाई प्राथमिकता दिनुपर्ने बताइन् । प्रविधि आजका बालबालिकाको हातमै पुगेकाले यसको सुरक्षित र सिर्जनात्मक प्रयोग गर्न उनले आग्रह गरिन् ।
कार्यक्रमका प्रमुख अतिथि नवलपुर–१ का प्रतिनिधिसभा सदस्य राजन गौतमले विपद्बाट प्रभावित बालबालिकालाई शिक्षासँग जोडिराख्न अनलाइन माध्यम उपयोगी हुने बताए । स्वास्थ्य, शिक्षा र सुरक्षाको जिम्मेवारी राज्यले प्रभावकारी रूपमा निर्वाह गर्नुपर्नेमा जोड दिँदै उनले इन्टरनेटलाई सही ढङ्गले प्रयोग गर्न विद्यार्थीलाई आग्रह गरे । ‘इन्टरनेट समुद्र हो, जहाँ कीरा पनि पाइन्छ, हिरा पनि छ, कीरा टिप्ने कि हिरा टिप्ने, त्यो तपाईंहरूको हातमा छ,’ उनले भने ।
कार्यक्रमका सल्लाहकार तथा अङकुरम्् एकेडेमीका प्राचार्य सुमन पौडेलको सभापतित्व तथा स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन ओजस्वी न्यूरे, तेजश्वी पन्त र अनुस्का भण्डारीले गरेका थिए । कार्यक्रममा छवटै समितिका उपसभापतिहरूले समेत मन्तव्य व्यक्त गरेका थिए ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे