२०८२ अषाढ २९, आईतबार
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी ठाकुरप्रसाद पोखरेलका अनुसार उनीहरूको चार महिनाअघि मात्रै बिहे भएको थियो। श्रीमतीको हत्यापछि श्रीमानले आत्महत्या गरेको प्रहरीको प्रारम्भिक अनुमान छ।
तुलसीपुर उपमहानगरपालिका – ९ बेलुवामा कोठा भाडामा बस्दै आएका २५ वर्षीय सुशील भण्डारी र २१ वर्षीया पवित्रा डाँगी शनिबार बिहान कोठाभित्र मृत अवस्थामा फेला परेका हुन्।
सुशीलको शव झुन्डिएको अवस्थामा र पवित्राको शव ओछ्यानमा फेला परेको थियो।
पवित्राको टाउको, नाक, मुखमा सामान्य चोटपटक देखिनुले सुशीलले श्रीमतीको हत्या गरेपछि आफूले आत्महत्या गरेको हुन सक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको इप्रका तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक नवराज केसीले बताए।
‘प्रारम्भिक अनुसन्धानबाट श्रीमतीको हत्यापछि झुन्डिएर आत्महत्या गरेको आशंका छ,’ प्रहरी निरीक्षक केसीले भने, ‘श्रीमानको सुसाइड नोट पनि फेला परेको छ। त्यसमा पनि उनले श्रीमतीले सधैँ किचकिच गरेको हुँदा घटना भएको भन्ने खाले कुरा उल्लेख छ।’
तर सुशीलको सुसाइड नोट स्पष्ट नभएकाले बुझ्न कठिन हुने भएको प्रहरीको भनाइ छ। दुवैको शव पोस्टमर्टमका लागि पठाइएको र रिपोर्ट आउन केही दिन लाग्ने भएको छ।
सुशीलको स्थायी ठेगाना सल्यान जिल्लाको त्रिवेणी गाउँपालिका – ४ फलाबाङ हो। सुशील र पवित्रा झन्डै डेढ महिनादेखि तुलसीपुरमा डेरा गरी बस्दै आएका थिए। उनीहरू तुलसीपुरमै ज्याला मजदुरी गर्थे।
प्रवक्ता केसीका अनुसार यो घटना शुक्रबार हुनसक्ने देखिएको छ।
शनिबार बिहान ढोका नखुलेपछि भित्रबाट बन्द गरिएको कोठाबारे घरबेटीले प्रहरीलाई खबर गरेका थिए। ढोका खोलेर हेर्दा दुवै मृत अवस्थामा फेला परेका थिए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे