२०८२ जेष्ठ २९, बिहिबार
यसैबिच देशकै गौरवको आयोजना भनिएको कालिगण्डकी करिडोर बागलुङ खण्ड भने निर्माण कम्पनीले सम्पन्न गर्नुपर्ने मितिभन्दा ६ महिना अगावै पूरा गरेको छ ।
करिडोरको बागलुङ खण्ड अन्तर्गतको बलेवा–हर्मिचौर खण्डको ४५ किलोेमिटर सडक कालोपत्रेको जिम्मा लिएको निर्माण कम्पनी कालिका कन्स्ट्रक्सनले तोकेकोभन्दा ६ महिनाअघि कालोपत्रे सम्पन्न गरेको हो ।
निर्धारित समयअघि नै काम सकेपछि बागलुङ नगरपालिका र जैमिनी नगरपालिका र गुल्मीको कालिगण्डकी गाउँपालिकाले निर्माण कम्पनीलाई शनिबार सम्मान गरेका छन् ।
साथै समयमा काम सक्ने वातावरण बनाउन भूमिका खेल्ने कालिगण्डकी करिडोर आयोजना कार्यालयलाई पनि सम्मान गरेको जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले जानकारी दिए ।
आयोजना कार्यालय पाल्पाकी प्रमुख कल्पना अधिकारीले पनि ठेकेदार कम्पनीले इमान्दारपूर्वक काम गरेको बताइन् । ठेकेदार कम्पनी कालिका क्नस्ट्रक्सनका आयोजना व्यवस्थापन महेश सुवेदीलाई जैमिनीधाममा आयोजित कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख बसन्तकुमार श्रेष्ठ र जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले सम्मान गरेका हुन् ।
सो अवसरमा आयोजनाका प्राविधिकहरू, कन्स्ट्रक्सनका प्राविधिक तथा अन्य कर्मचारी समेत सहभागी थिए ।
तीन अर्ब ३३ करोड लागत
आयोजना कार्यालयका अनुसार २६ मंसिर ०७९ मा उक्त सडक खण्डको ठेक्का लागेको थियो । तीन अर्ब ३३ करोडको लागतमा २५ मंसिर ०८२ मा सक्ने सम्झौता थियो । यो खण्डबाहेक हर्मीचौरदेखि रिडीसम्मको सडक अघिल्लो वर्ष नै कालोपत्रे भैसकेको छ ।
बागलुङको बलेवादेखि मालढुंगासम्मको खण्ड निर्माण भने अझै सकिएको छैन । योजना सफल पार्न जनप्रतिनिधिले पनि ठूलो योगदान पु-याएको भन्दै यो सम्मानको भागिदार स्थानीय जनप्रतिनिधि पनि भएको आयोजना प्रमुख अधिकारीको भनाइ थियो ।
सबैको सहयोगले तोकिएको समयभन्दा अगाडि काम सकियो
कालिका कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर महेश सुवेदीले हर्मिचौर–बलेवा खण्डमा धेरै अप्ठयारा भिर, पहरा रहे पनि निरन्तर सक्रिय र स्थानीयको सहयोगमा ६ महिनाअघि नै काम सम्पन्न भएको बताए ।
सुवेदीका अनुसार यस खण्डमा कसैको अवरोध नहुँदा समयमै काम सम्पन्न गर्न सहज भयो । काम सम्पन्न गर्नुमा जनप्रतिनिधि र स्थानीयको ठूलो सहयोग रहेको सुवेदी बताउँछन् ।
सडक कालोपत्रे भएपछि १०–१२ घण्टा लाग्ने सडक अब ५ घण्टामा छोटिएको छ । करिडोर खण्डअन्तर्गत मालढुंगा–बलेवा खण्ड भने सुस्त गतिमा काम भएको छ ।
खड्क कृष्ण जेबी निर्माण कम्पनीले जिम्मा लिएको यस खण्डको काम केही संरचना निर्माणमा मात्र रोकिएको छ । नयाँबिश्वबाट साभार
कालिगण्डकी करिडोर भारतको सुनौलीदेखि चीनको कोरलासम्म जोड्ने छोटो दुरीको सडकको रूपमा रहेको छ । यो राष्ट्रिय गौरवको आयोजना भएका कारण निर्माणको काम धमाधम भै रहेको छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे