नर्गीको खडौरिया, लबटोली, अस्पतालटोल र थानटोल गरी चार वटा दलित बस्तीमा शौचालय नहुनु केवल सुविधाको अभावमात्र नभई, मानव स्वास्थ्य र मर्यादासँग जोडिएको गम्भीर विषय बनेको छ । स्थानीय बासिन्दाका अनुसार शौचालय नहुनुको मुख्य कारण आर्थिक अभाव, जग्गाको अभाव र जनचेतनाको कमी हो । ऐलानी जमिनमा बसोबास गरिरहेका यहाँका दलित समुदायलाई शौचालय बनाउन ठाउँसमेत छैन ।
बस्तीका ५० वर्षीय हरिचन्द्र सदाय भन्छन्, “हामीसँग शौचालय बनाउने उपाय नै छैन । बाबुबाजेको पालादेखि खुला ठाउँमै शौच गर्दै आएका छौँ । अहिले पनि अवस्था जस्ताको तस्तै छ ।” त्यस्तै स्थानीय महिला अनितादेवी सदाय भन्छिन्, “घरकै लागि ठाउँ छैन, शौचालय कहाँ बनाउने ? बनाउन चाहे पनि आर्थिक हैसियत छैन ।”
अर्की स्थानीय कुस्मीदेवी सदायका अनुसार शौचालय अभावमा बालबालिकाले सार्वजनिक स्थानमै दिसापिसाब गर्ने गर्छन् । “बस्ती नै दुर्गन्धित भएको छ । गल्ली र झाडीमा दिसा देखिन्छ । सर्प र बिच्छीको डर पनि उत्तिकै हुन्छ ।”
शौचालयमात्र होइन, यहाँ पानीको पनि चरम अभाव छ । खडौरियामा पाँचवटा हातेकलबाट २३ घरले पानी जोहो गरिरहेका छन् । लबटोलीमा एउटामात्र हाते पम्प छ, जुन गैरसरकारी संस्था ‘दलित जनकल्याण युवा क्लब लहान’को पहलमा जडान गरिएको हो । “पानीकै स्रोत छैन भने शौचालय कसरी प्रयोग गर्नु ? अस्पतालटोल र थानटोलका बासिन्दा अझै पनि टाढाटाढाबाट पानी ओसार्न बाध्य छन्”, क्लबका अध्यक्ष उमेश विसुङ्केले भने ।रासस
शौचालय जडान गर्नु केवल संरचना बनाउनु मात्र नभएर त्यसको प्रयोग र सफाइ गर्न पर्याप्त पानी चाहिने भएकाले पहिले पानीको व्यवस्थापनमा ध्यान दिन आवश्यक रहेको विसुङ्केको भनाइ छ । गाउँपालिका र सम्बन्धित निकायले खानेपानीको समस्या समाधान नगरी सरसफाइ र शौचालयको कुरा गर्नु सतही मात्र हुने उनको तर्क छ ।
बरियारपट्टी गाउँपालिका–१ का वडाध्यक्ष देवेन्द्र यादवले बस्तीका परिवारसँग बस्नबाहेकको कुनै जग्गा नभएकाले शौचालय निर्माण गर्न समस्या रहेको बताए । उनले भने, “बस्तीमा सार्वजनिक जमिनसमेत अभाव भएकाले सामुदायिक शौचालय बनाउने सम्भावना कठिन देखिएको छ ।” उनले अगाडि थपे, “शौचालयको समस्या समाधान गर्न गाउँपालिकामा पटकपटक छलफल भएको छ । छिट्टै समाधानको बाटो खोजिनेछ ।”
सरकारले खुला दिसामुक्त राष्ट्र घोषणा गरिसकेको अवस्थामा समेत नर्गीको दलित बस्ती शौचालयविहीन हुनु गम्भीर प्रश्न बनेको छ । नर्गीमात्र नभएर जिल्लाका अधिकांश दलित बस्तीमा शौचालय नरहेको कतिपयको भनाइ छ ।
बरियारपट्टी गाउँपालिका उपाध्यक्ष ममताकुमारी यादवले हुलाकी सडक नजिकैको यस्तो बस्तीमा अझै पनि शौचालय नहुनु लज्जास्पद र दुःखद विषय भएको भन्दै यो समस्यालाई प्राथमिकतामा राखेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरिन् ।
शौचालय अभावले केवल असुविधा मात्र होइन, बालबालिका र महिलाको सुरक्षामा गम्भीर असर पारिरहेको छ । खुला दिसाको जोखिम, सङ्क्रमणका रोग र विषालु कीराको त्रासले बस्तीका बासिन्दाको जीवन झन् कष्टकर बनेको छ । सरकार र सरोकारवाला निकायबाट स्थायी, दिगो र समावेशी समाधानको स्थानीयवासी माग गर्दै आएका छन् । यद्यपि, उनीहरूको अवस्था अझै पनि सरकारी ध्यान र प्राथमिकताबाट टाढै देखिन्छ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे