२०८२ कार्तिक ४, मंगलबार
विसं २०७४ देखि फूल खेती सुरु गरेका सीतारामको बारीभरि अहिले सयपत्री र मखमली फूलहरू ढकमक्क फुलेका छन् । उनी भन्छन्, “एक लाख लागतमा फूल खेती सुरु गरेको थिए । पहिलो वर्ष त नतिजा कस्तो आउला भनेर डर लागेको थियो । तर बिस्तारै सिक्दै गएँ र अनुभवसँगै आत्मविश्वास बढ्दै गयो । अब यो मेरो पहिचान नै बनेको छ”, उनले भने ।
फूल खेतीले सीतारामलाई केवल आम्दानी मात्र दिएको छैन, जिल्लामा फूल व्यवसायीको रूपमा स्थापित समेत बनाएको छ । अहिले सीताराम पुष्प व्यवसाय प्रशिक्षकको रूपमा स्थापित छन्। तिहारमा विशेष गरी मखमली र सयपत्रीको माग बढी हुने भएकाले बढीजसो यी फूल उत्पादन हुन्छन् । “फूल बिक्री गर्न समस्या छैन, बरु माग धान्न सकिएको छैन”, तिहारका लागि फुलको माला बेच्न सुरु गरिसकेको बताउँदै सीतारामले भने, “प्रतिमाला रु १३० र प्रतिकिलो रु ६०० को दरले बिक्री गरिरहेका छौँ ।”
सयपत्री र मखमली फुलबाट एउटा याममा रु ४ लाख बढी आम्दानी हुने गरेको उनले बताए । एउटा बोटबाट चारवटासम्म माला बनाउन सकिन्छ । आवश्यकता अनुसार फूल उपलब्ध गराउने सीतारामले फूल खेतीबाट मनग्य आम्दानी हुन थालेपछि व्यवसाय बढाउँदै लगेका छन् ।
उनी भन्छन्, “धान, गहुँ र तोरी खेती पनि गरेको छु, तर फूलखेतीबाट सोचे जस्तै आम्दानी भइरहेको छ ।”
दश कट्ठा जमिनबाट व्यवसाय सुरु गरेका सीतारामले अहिले एक बिघा पाँच कट्ठामा फूल खेती गर्दै आएका छन् । सजावटमा प्रयोग हुने कट फ्लावर (तारबारे, गुलाफ, जोखेडा र गोदावरी) पनि उनले लगाएका छन् । फूल उत्पादनदेखि प्याकिङसम्मको तालिम लिएका सीतारामले फूल खेती सँगसँगै माला, बुकी बनाउने, विवाहको गाडी सजाउने, मञ्च सजाउने कार्यका साथै अरूलाई तालिम दिने समेत गर्छन् । उनको अनुभवमा प्राकृतिक फूल स्थानीय स्तरमै पाउन थालेपछि अहिले कृत्रिम फूलको प्रयोग घट्दै गइरहेको छ ।
फूल लगाउने, गोडमेल गर्ने तथा टिप्नेदेखि माला उन्ने कार्यमा स्थानीयलाई रोजगार समेत दिने गरेको सीतारामले बताए । कैलाली जिल्लाबाहेक बर्दिया, बाँकेलगायतका जिल्लामा समेत उनको ‘इन्द्रेणी पुष्प खेती फार्म’बाट फूल बिक्री हुने गरेको छ । सुरुआतमा गाउँलेको प्रतिक्रियाले उनलाई हतोत्साहित गरेको थियो । धेरैले सीतारामलाई ‘फूल बेचेर के कमाइ हुन्छ र’ भन्ने गर्दथे । तर समयसँगै उनको प्रयासको मूल्य सबैले देखे । रासस
“अब धेरैले मलाई पछ्याइरहेका छन् । मेरो खेती हेरेर अन्य किसानले पनि फूल खेती सुरु गरेका छन्”, सीताराम भन्छन् । उनको लक्ष्य अब फूलखेतीलाई अझ व्यावसायिक रूप दिनु हो । तिहारपछि पुष्प व्यवसायी सङ्घ गठन गर्ने योजनामा उनी छन् । अब त यो पेसा केवल आम्दानीका लागि होइन, मेरो पहिचान बनिसकेको छ । टीकापुरमा फूल भन्ने बित्तिकै जोकोहीले पनि मलाई सम्झन्छन्”, उनले भने, “फूल खेतीले मेरो जीवनलाई रङ्गिन मात्रै बनाएको छैन । आर्थिक रूपमा बलियो समेत बनाएको छ ।”
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे