२०८२ बैशाख २६, शुक्रबार
गत माघको अन्तिम तिर आमा लक्ष्मी रावतको दुवै मिर्गौला फेल भएर मृत्यु भएपछि उनका दुई छोरा र दुई छोरी बिचल्लीमा परेका हुन् । आमाको मृत्युपछि दुधे बालकको अवस्थाले जोकोहीको मन भक्कानिएर आउँछ ।
आमा लक्ष्मी रावतको मृत्यु भएपछि ७ महिने दुधे बालकसहित अन्य तीनजना बालबालिका सहाराको पर्खाइमा छन् । लक्ष्मीकी आमा बाँचकला बोहोराको घरमा बालबालिकाले आश्रय लिँदै आएका महिला स्वास्थ्य स्वयंसेविका हरिकन्या नेपालीले जानकारी दिइन् । उनका अनुसार सात महिना र ८ वर्षका छोरा र ६ र ४ वर्षकी छोरी छन् ।
खेतपातीले ६ महिनासमेत खान नपुग्ने भएपछि लक्ष्मीका पति २७ वर्षीय सुरत रावत मजदुरी गर्छन् । ती बालबालिकाको सहारा भनेका बुबा सुरत र नाताले हजुर आमा पर्ने बाँचकला हुन् । तर, सुरत मजदुरी गर्न जाने भएकाले सबै जिम्मेवारी बाँचकलाकै काँधमा आइपरेको छ ।
‘अब त यी टुहुराहरुको पालनपोषण कसले गर्देला ? हामी बुढा बुढी डाँडामाथिका घाम भइसक्यौँ,’ ६० वर्षीया बाँचकलाले भनिन् । लक्ष्मीको मृत्युपछि सात महिने बालक बिरामी परेकाले घरमै थला परेको उनले बताइन् ।
आर्थिक अवस्था कमजोर भएकाले बालबालिकाको पालनपोषण गर्न छिमेकहरुले संकलन गरेर दिएको ३५ हजार रुपैयाँले खर्च गरेको बाँचकलाले बताइन् । तर, उक्त रकम पनि सकिएकाले अब कसरी बालबालिकाको पालनपोषण र शिक्षादीक्षा दिने भन्नेमा बाँचकला र उनका ज्वाइँ तथा लक्ष्मीका पति सुरत चिन्तित् छन् । घरमा खान अन्नमात्रको अभाव होइन, बासका लागि सुरक्षित छानासहितको घरसमेत नरहेकाले बालबालिकाको स्वास्थ्यमा समेत असर गर्न थालेको स्थानीय बताउँछन् । राज्यले शिक्षा, स्वास्थ्य, गाँसबास नभएकालाई हेरविचार गर्नुपर्नेमा वडा र नगरपालिकाले अहिलेसम्म चासो नदिएको हजुुरआमा बाँचकलाको गुनासो छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे