पल शाहविरूद्ध १४ वर्ष सजायको मागदाबी सहित नवलपुर अदालतमा मुद्धा दर्ता

नवलपुर: पल शाहविरुद्ध नवलपुर जिल्ला अदालत कावासोतीमा बलात्कार मुद्दा दर्ता भएको छ ।  जिल्ला सरकारी वकिलको कार्यालयले आज दिउँसो शाहविरुद्ध बलात्कार मुद्दा दर्ता गराएको हो ।

गायिका समेत रहेकी बालिकाले दिएको जाहेरीको आधारमा प्रहरीले उनलाई पक्राउ गरी अनुसन्धान गरेको थियो । मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को उपदफा १ र २ बमोजिम कसूरदार ठहर गर्दै सरकारी वकिलको कार्यालयले अभियोगपत्र दायर गरेको हो ।

जिल्ला सरकारी वकिल कार्यालयका सहायक जिल्ला न्यायाधिवक्ता डालबहादुर नेपालीका अनुसार शाहविरुद्ध मुलुकी अपराध संहिता २०७४ को दफा २१९ को (३) को (ग) अनुसार सजाय माग गरिएको छ । जसमा १४ देखि १६ वर्षसम्मकी बालिका बलात्कार गरेकामा १२ देखि १४ वर्ष सजाय हुने उल्लेख छ । सोही अनुसारको सजाय माग दाबी गरिएको उनले बताए ।

त्यस्तै यौन हिंसा अध्यादेश २०७७ मा चार लाखसम्म जरिवाना हुनसक्ने उल्लेख छ । सोही अनुसार चार लाख रुपैयाँ क्षतिपूर्तिको समेत मागदाबी गरिएको र शाहलाई तनहुँबाट झिकाउने भन्ने अभियोगपत्रमा उल्लेख गरिएको छ। नवलपुरमा अनुसन्धानपछि शाहलाई तनहुँ लगिएको थियो । तनहुँबाट झिकाएपछि मात्र थुनछेक बयान सुरु हुने सरकारी वकील कार्यालयले जनाएको छ।