१- अखिल नेपाल फुटबल संघ (एन्फा) ले बंगलादेशसँग हुने दुई मैत्रीपूर्ण खेलका लागि ३० सदस्यीय प्रारम्भिक टिमको घोषणा गरेको छ । नेपालले आगामी सेप्टेम्बर ६ र ९ मा काठमाडौंको दशरथ रंगशालामा बंगलादेशसँग दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दैछ । दुवै खेल फिफा अन्तर्राष्ट्रिय विन्डो अन्तर्गत खेलिने एन्फाले जानकारी दिएको छ । यस खेलका लागि घोषणा गरिएको ३० सदस्यीय प्रारम्भिक टिममा अभिषेक लिम्बु, आदित्य शाक्य, अमृत श्रेष्ठ, अमित लामा, अनन्त तामाङ, अञ्जल श्रेष्ठ, अन्जन विष्ट, अरिक विष्ट, भरत खवास, विशाल सुनार, दीप कार्की, दिनेश हेन्जन, दीपेन्द्र विक, गिलेस्पी जंग कार्की, किरण चेम्जोङ, कुलदीप कार्की, कुशल देउवा, लाखेन लिम्बु, मणि लामा, मनिष डाँगी, रणदीप पौड्याल, रोहित चन्द, रोहन कार्की, समिर तामाङ, समित श्रेष्ठ, स्म्वाश बम, सृजनराज गौतम, सुमन श्रेष्ठ, टिकेन्द्र थापा र योगेश गुरुङ रहेका छन् ।
२- प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार स्थिर सरकार भएकाले ढुक्कका साथ काम गरेर सबै भूमीहिनलाई लालपूर्जा दिलाएर इतिहास रच्न भूमि समस्या समाधान आयोगका केन्द्र र जिल्लाका पदाधिकारीहरुलाई आग्रह गरेका छन् । आयोगको वार्षिक समीक्षा गोष्ठीलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले पूर्णता दिन बाँकी सबै जिल्लास्थित आयोगहरुलाई अबको दुई साताभित्र पूर्णता दिन पनि निर्देशन दिए । उनले भने- ‘यो आयोग काम नगर्नका लागि वा विगतका जस्तै असफल हुनका लागि गठन गरिएको होइन । काम गर्नका लागि, परिणाम निकाल्नका लागि र लालपूर्जाबिहीनलाई त्यसबाट मुक्त बनाउनका लागि गठन गरिएको हो । भूमिहीन र अव्यवस्थित बसोबासीले जमिन पाउनुपर्छ । त्यसका लागि कामका सन्दर्भमा सरकारको कुनै सहयोग वा कानुन संशोधन आवश्यक भएमा हामी गर्छौं । मुलुकको विशेष परिस्थितिमा दुई ठुला दलको सहकार्यमा बनेको यो गठबन्धन ढुक्कका साथ २०८४ सम्म जान्छ । हामी टालाटुली बाटुली, कति राम्री पुतली भनेजस्तो गरेर के के भेला पारेर सरकार बनाउने पक्षमा छैनौँ । यस्तो स्थिर सरकारको समयमा आयोगलाई काम गर्न कुनै दुविधा हुँदैन र हुन दिइँर्दैन ।’
३- नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरणकुमार चेम्जोङ बंगलादेशको लिग खेल्ने भएका छन् । चेम्जोङ बंगलादेशको शीर्ष डिभिजन क्लब बंगलादेश पुलिस क्लबमा अनुबन्धित भएका हुन् । किरणले यसअघि माल्दिभ्सको ट्रस्ट एन्ड केयर स्पोर्ट्स क्लब, माजिया क्लब र भारतको मिनर्भा पञ्जाबबाट खेलिसकेका छन् । सन् २००७ देखि राष्ट्रिय टोलीको गोलकिपरको रुपमा खेल्दै आएका ३५ वर्षीय किरण पछिल्लो समय क्लबविहीन थिए । यो उनको चौथो विदेशी क्लब हो ।
४- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्व महामन्त्री डा. मुकुल ढकालको रिट सर्वोच्च अदालतले खारेज गरेको छ । मंगलबार सर्वोच्च अदालतका न्यायाधीशद्वय नहकुल सुवेदी र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले डा. ढकालको रिट खारेज गर्दै निर्देशनात्मक आदेश जारी गरेको हो । डा. ढकालले आफू रास्वपाको महामन्त्री रहेको दाबी गर्दै सो हैसियतमा काम गर्न र गराउन पाउँ भन्दै रिट दायर गरेका थिए । उनले रिटमा परमादेश, उत्प्रेषणसहितको आदेश माग गरेका थिए । रिटमा उनले रास्वपाको केन्द्रीय कार्यालयसहित महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा, स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने लगायतलाई विपक्षी बनाएका थिए ।
५- काठमाडौं महानगरपालिकाले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाटलाई २ लाख रुपैयाँसहित सम्मान गरेको छ । यस्तै, प्रथम खोखो विश्वकप २०२५ मा उपविजेता बनेका महिला र पुरुष टोलीलाई ११–११ लाख रुपैयाँ गरी जम्मा २२ लाखको चेकसहित सम्मान गरेको छ । खोखोको रकम व्यवस्थापन नेपाल खोखो संघले नै गर्नेछ । सम्मान कार्यक्रममा काठमाडौं महानगरपालिकाका प्रमुख, उपप्रमुख, प्रमुख प्रशासकीय अधिकृत र सामाजिक विकास समितिका संयोजकलगायतको उपस्थिति रहेको थियो । यो सम्मान सामाजिक विकास समितिको सिफारिसमा गरिएको हो ।
६- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नेप्से एआई (Nepse AI) एपमा सचेत रहन आग्रह गरेको छ । पछिल्ला दिनहरूमा फेसबुक, इन्स्टा, टिकटकलगायतका सामाजिक सञ्जालबाट शेयर बजारको विश्लेषण भन्दै आकर्षक विज्ञापन देखाएर प्रयोगकर्तालाई नेप्से एआई एप डाउनलोड गर्न लगाएर ठगि बढेको भन्दै सचेत रहन सर्बसाधारणलाई आग्रह गरेको हो । ब्युरोले एप इन्स्टल गरी पासवर्ड तथा सेन्सेटिभ विवरण प्रविष्ट गरेपछि प्रयोगकर्ताको डिजिटल डिभाइसमा पूर्ण नियन्त्रण लिने गरेको पाइएको र बैंक खाताबाट रकम चोर्ने घटनाहरू बढेको बताएको छ । प्रहरीले एक व्यक्तिको २८ लाख ६१ हजार रुपैयाँ अन्य खातामा ट्रान्सफर भएको र पीडितको मोबाइलमा ‘ब्ल्याङ्क स्क्रिन’ देखिएको घटना विवरण सार्वजनिक गर्दै केही उजुरी प्राप्त भएको उल्लेख गरेको छ ।
७- चितवनको सौराहास्थित बाघमारा मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहको परिसरमा १४औं अन्तर्राष्ट्रिय हात्ती दिवस भव्यता पुर्वक मनाइएको छ । मंगलवार एक विशेष कार्यक्रमसहित हात्तीहरुलाई वनभोज समेत गराइएको थियो । युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेडद्वारा आयोजित सो कार्यक्रममा सरकारी तथा निजी मिलाएर ६० वटा हात्तीलाई उनीहरूलाई मनपर्ने विविध परिकारहरू खुवाइएको थियो । कार्यक्रममा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्था लिमिटेडका उपाध्यक्ष एवं हात्ती दिवस-२०८२ कार्यक्रमका संयोजक शम्भू प्रसाद मालीले सौराहामा हात्ती बिना पर्यटनको विकास परिकल्पना समेत गर्न नसकिने बताउदै हात्तीको पालन पोषणमा चुनौती बढ्दै गएको र सरकारसँग सहयोगको अपेक्षा गरेको बताएका थिए ।
८- प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा राजीनामा दिएका छन् । सभापति खतिवडाले प्रतिनिधि सभाको आजको बैठकमा सम्बोधन गर्दै राजीनामाको घोषणा गरेका हुन् । संघीय निजामती सेवा सम्बन्धी विधेयकमा समितिले सर्वसम्मत पारित गरेको दुई वर्षे ‘कुलिङ अफ पिरियड’ को प्रावधानमा हेरेफेर गरिएको विषयमा कांग्रेस सहमहामन्त्री जीवन परियार नेतृत्वमा गठन भएको संसदीय छानबिन समितिले सभापति खतिवडाले राजनीतिक र नैतिक जिम्मेवारी लिनुपर्ने छानबिन प्रतिवेदनमा उल्लेख गरेपछि उनी अप्ठ्यारोमा परेका थिए ।
९- प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि र उद्योगमन्त्रीसहित सम्बद्ध अधिकारीलाई तीन बुँदे निर्देशन दिएका छन् । मंगलबार सिंहदरबारमा कृषि मल व्यवस्थापन र उत्पादनवृद्धिबारे छलफल गर्दै तीन बुँदे निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीले रासायनिक मलको आपूर्ति व्यवस्था चुस्त दुरुस्त गराउन नयाँ ढाँचासहितको ठोस योजना ल्याउन, कम्पोष्ट र आर्ग्यानिक मलको उत्पादन र प्रयोगका लागि राष्ट्रिय अभियान सन्चालन तथा यसमा अनुदान नीतिको प्रस्ताव ल्याउन र माटोको उर्वरता बचाउने खालको रासायनिक मल कारखाना नेपालमै खोल्न अध्ययनको खाका ल्याउन निर्देशन दिएका हुन् ।
१०- राष्ट्रिय मानव अधिकार आयोगले कारागारहरु मानव अधिकारमैत्री नभएको भन्दै कारागार व्यवस्थापनमा सुधार गर्न निर्देशन दिएको छ । मंगलबार आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलले विज्ञप्ति जारी गर्दै सरकारलाई कारागार व्यवस्थापनमा सुधार गर्न निर्देशन दिएको हो । आयोगले पछिल्लो समय कैलाली कारागारमा कैदीबन्दीहरु बिच भएको मुठभेडबाट उत्पन्न स्थिति र रुपन्देही जिल्ला कारागारको समग्र स्थितिको बारेमा अनुगमन गरेको बताउदै आधारभूत आवश्यकताहरुको व्यवस्थापनका लागि समेत कारागार कार्यालयसँग पर्याप्त बजेट नभएको पाइएको बताएको छ ।
११- आज पनि नेप्से परिसूचकमा गिरावट आएको छ । नेप्से मंगलबार २६.२२ अंकले घटेर २७९६.२४ विन्दुमा पुगेको हो । आजको कारोबारमा विभिन्न ३२३ कम्पनीका एक करोड ७६ लाख ७१ हजार ६७५ कित्ता शेयर ६ अर्ब ९१ करोड ८९ लाख ८३ हजार ५०७ मा किनबेच भएको नेप्सेले जनाएको छ । आज सिटी होटलको शेयर सबैभन्दा बढी ९.९९ प्रतिशतले बढेको छ भने समाज लघुवित्तको शेयर ४.३४ प्रतिशतले बढेको छ । त्यस्तै आज सिक्लेस हाइड्रोको शेयर मुल्य सबैभन्दा बढी ९.९९ प्रतिशतले घटेको छ भने उन्नति लघुवित्तको शेयर ८ प्रतिशतले घटेको छ । आज सबै भन्दा बढी कारोबार नेपाल रिइन्सुरेन्स कम्पनी लिमिटेडको २६ करोड ७७ लाख र हिमालयन रिइन्सुरेन्सको २३ करोड ९६ लाखको कारोबार भएको नेप्सेले जनाएको छ ।
१२- राष्ट्रिय सभामा अभौतिक सम्पदाको संरक्षण गर्न सम्बन्धित व्यवस्था गर्न तयार गरिएको अभौतिक सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी विधेयक, २०८१ पेश गरिएको छ । मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले उक्त विधेयक राष्ट्रिय सभामा पेश गरेका हुन् । विधेयक प्रस्तुत गर्दै मन्त्री पाण्डेले भने- ‘नेपाल अभौतिक सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी महासन्धि, २००३ को पक्ष राष्ट्र भइसकेको अवस्थामा, महासन्धिको पक्ष राष्ट्रको हैसियतले उक्त सन्धिको कार्यान्वयन गर्नका लागि यो विधेयक ल्याइएको हो ।’
१३- लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका वरिष्ठ उपाध्यक्ष अनिल झाले पार्टीबाट राजीनामा दिएका छन् । गत आम निर्वाचनमा धनुषा-३ मा लोसपाबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनेका झा पराजित भएका थिए । पूर्व उद्योगमन्त्री समेत रहेका झा राजपा हुँदै जसपा नेपाल र पछि लोसपा नेपालमा आबद्ध थिए ।
१४- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले देवघाट क्षेत्र विकास समितिका नवनियुक्त पदाधिकारीलाई नियुक्तिपत्र प्रदान गर्दै इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्न आग्रह गरेका छन् । नवनियुक्त पदाधिकारीमा अध्यक्ष ईश्वरीराज लौडारी, सदस्यहरू चन्द्रमित्र पण्डित (चितवन), लक्ष्मण सुवेदी (चितवन), सालिकराम सापकोटा (नवलपरासी), यु कुमारी शर्मा (नवलपरासी), रामहरि पुडासैनी (तनहुँ) र इन्द्रमाया थापा मगर (तनहुँ) रहेका छन् ।
१५- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले आज पनि प्रतिनिधि सभाको बैठक बहिस्कार गरेका छन् । प्रतिनिधि सभाको बैठकमा रास्वपाका सांसद शिशिर खनाल र राप्रपाकी सांसद बिना लामाले आफ्नो धारणा राखेपछि आजको बैठक बहिष्कार गरेका हुन् । रास्वपा र राप्रपाले भिजिट भिसा प्रकरणमा आफुहरुको विरोध जारी रहेको बताउदै उनीहरुले छानबिनका लागि उच्चस्तरीय आयोग बनाउनुपर्ने माग राख्दै आएका छन् । दुवै दलले भिजिट भिसा प्रकरणमा गत जेठ १३ गतेदेखि नै संसदमा विरोध गर्दै आएका छन् ।
१६- सुपरस्टार फुटबल क्रिस्टियानो रोनाल्डोले आफ्नो लामो समयदेखिकी प्रेमिका जर्जिना रोड्रिगेजसँग इन्गेजमेन्ट गरेका छन् । जर्जिनाले इन्गेजमेन्टको औठी सार्बजनिक गर्दै इन्गेजमेन्ट गरेको जानकारी दिएकी हुन् । रोनाल्डो र जर्जिनाको सम्बन्धको बारेमा धेरै वर्षको अनुमान र अड्कलबाजीलाई अन्त्य गर्दै दुवैले आफ्नो सम्बन्धलाई आधिकारिकता दिएका छन् । रोनाल्डो र जर्जिना २०१६ देखिसँगै छन् । रोनाल्डोले पहिलो पटक जर्जिनालाई म्याड्रिडको गुच्ची स्टोरमा भेटेका थिए । ४० वर्षीय पोर्चुगिज सुपरस्टार अब साउदी प्रो लिगमा अल नासरमा आफ्नो खेलाडीको क्यारियरको अन्त्य तिर रहेका छन् ।
१७- नेपाली बजारमा आज सुनचाँदीको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुन तोलाको १३ सयले घटेर तोलाको एक लाख ९६ हजार ८ सयमा कारोबार भइरहेको छ । यसअघि सोमबार सुन तोलाको एक लाख ९८ हजार १ सयमा कारोबार भएको थियो । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको १० रुपैयाँले बढेर २३०५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि सोमबार चाँदी तोलाको २३१५ मा कारोबार भएको थियो ।
१८- नेपाली राष्ट्रिय महिला फुटबलर प्रिती राई जोर्डनको इत्तेहाद क्लबमा आवद्ध भएकी छन् । क्लबले प्रितीलाई नेपाली मेसीको उपनाम दिदै क्लबमा स्वागत गरेको छ । आफ्नो असाधारण खेल कौशल र विशिष्ट पासका लागि परिचित रहेकी २० बर्षिय राई यस अघि भारतको किकस्टार्ट एफसीबाट खेलेकी थिइन् ।
१९- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले अन्तर्राष्ट्रिय टर्मिनल भवनमा भिजिटर पास वितरण बन्द गर्ने जानकारी दिएको छ । विमानस्थलले सूचना जारी गर्दै आजदेखि भिजिटर पास वितरण बन्द गरेको जानकारी दिएको हो । सूचनामा भनिएको छ- ‘त्रिभुवन अन्तर्राष्ट्रिय टर्मिनल अन्तर्राष्ट्रिय टर्मिनल भवनबाट आवागमन गर्नुहुने व्यक्तिगत सहायता आवश्यक पर्ने बृद्ध बृद्धा, शारीरिक रुपमा फरक क्षमता भएका यात्रु, गर्भवती एवं नाबालक यात्रुहरुका लागि सहायता कक्षको व्यवस्था गरिएको व्यहोरा विदितै छ । साथै व्हिलचेयर लगायत विशेष सहयोग आवश्यक पर्ने यात्रुका लागि सम्बन्धित वायुसेवा कम्पनीको सहयोगमा सहजिकरण भैरहेको छ। चेक इन ब्यागेज संख्या र अधिकतम तौलको सीमा हवाई टिकटमा नै उल्लेख हुने भएकोले सोही व्यवस्थालाई पालना गरिदिनु हुन समेत अनुरोध गरिन्छ । यसै सन्दर्भमा यस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुविधादेय समितिको निर्णय अनुसार मिति २०८२/४/२७ गतेदेखि अन्तर्राष्ट्रिय टर्मिनल ड्युटी अफिस मार्फत वितरण हुँदै आएको भिजिटर पासको वितरण कार्य बन्द गरिएको व्यहोरा सरोकारवाला सबैमा जानकारीका लागि अनुरोध गरिन्छ ।’
२०- प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसले यस सिजनमा युरोपा लिग खेल्न नपाउने भएको छ । क्लबको स्वामित्वको विषयमा युरोपियन फुटबल फेडेरेसनले क्रिस्टल प्यालेसलाई लगाएको प्रतिबन्धको अपिल पनि अस्वीकार भएको छ । फेडेरेसनले लगाएको प्रतिबन्धको विरुद्ध क्रिस्टल प्यालेसले कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट्समा गरेको अपिल खारेज भएको छ । अब क्रिस्टल प्यालेसले युरोपीयन कन्फेरेन्स लिग खेल्ने भएको छ । क्रिस्टल प्यालेसले युरोपा लिगमा आफ्नो स्थान बनाएपनि फेडेरेसनले कन्फेरेन्स लिगमा डिमोसन गरेको थियो । फेडेरेसनले क्रिस्टल प्यालेसले मल्टी क्लब वनरसिपको नियम उलंघन गरेको आरोप लगाउदै कारवाही गरेको थियो । यस निर्णयबाट क्रिस्टल प्यालेसले करिब २७ मिलियन डलर गुमाउने भएको छ ।एभरेष्ट न्यूज एजेन्सी
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे