२०८२ आश्विन १४, मंगलबार
नेचरगाइड देवेन्द्र महतो र होटल म्यानेजमेन्ट अध्ययनरत उनका छोरा सिलासले कावासोती नगरपालिका–१५ शेरगञ्जमा टिम्बर ट्रपिकल रिट्रीट होटल सञ्चालनमा ल्याएका हुन । महतोका आमाबुबा बिकनकुमारी थरुनी र रुपनारायण महतोले मंगलबार संयुक्त रुपमा होटलको उद्घाटन गरे ।
सुन्दर, शान्त, प्राकृतिक वातावरण र रैथाने थारु परिकारसंग रमाउन चाहने पाहुनालाई लक्षित गरेर होटल सञ्चालन गरेको सञ्चालक महतोले बताए । उनले होटलमा घोङ्घी, माछा, हाँस, चिचर, सोझो रोटी लगायतका थारु परिकारसहित पाहुनाले अर्डर गरे अनुसार चाइनिज लगायत अन्य खानेकुराका परिकार उलब्ध गराइने जानकारी दिए ।
“हाम्रो विशेष परिकार भने रैथाने थारु खाना नै रहने छ”, सञ्चालक महतोले भने । काठ, बाँस लगायत वनजन्य सामग्री प्रयोग गरेर बनाइएको होटलको वरिपरि रुख र बोटविरुवा रहेका छन् । शेरगञ्जको अग्लो भागमा रहेको होटलबाट चितवन राष्ट्रिय निकुञ्जसहित बाघखोर होमस्टेको सुन्दर दृश्य देखिने गर्दछ ।
होटल परिसरमा सिजन अनुसार विभिन्न किसिमका आगन्तुक चराचुरुङ्गी आउने गरेका छन् । गर्मी याममा स्वर्गचरी, कोइली लगायतका पाहुना चराले त्यस ठाउँमा गुँड बनाएर बचेरा हुर्काउने गरेको महतोले जानकारी दिए । त्यसैगरी, रैथाने विभिन्न प्रजातिका चरा जतिसुकै बेला देखा पर्ने गरेको जनाइएको छ ।
चराचुरुङ्गी, प्रकृति र स्थानीय थारु संस्कृतिसंग रमाउन चाहेका पर्यटकका लागि आफ्नो होटल उपयुक्त गन्तव्य बन्न सक्ने महतोले उल्लेख गरे । उनले डण्डा बजार र कावासोती बजारको बाटो भएर होटलसम्म पुग्न सकिने जानकारी दिए ।
होटल उद्घाटन कार्यक्रममा अमेरिका बस्दै आएका कावासोती नगरपालिका–१५ गोडारका राजु महतो, कैलालीको धनगढीका अविनाश चौधरी, होटल व्यवसायी बिनु महतो लगायतको उपस्थिति रहेको थियो ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे