सिमकोट–७ थाया गाउँमा एक साता अघिदेखि मौरीमा अज्ञात रोग देखिएपछि मौरी मर्न थालेका किसान बताउँछन् । व्यावसायिक पालन गर्दै आएका भैरे सिंहले एउटा घारका मौरी मरेका बताउँदै के कारणले मरेका हुन् जानकारी प्राप्त नभएको जानकारी दिए ।
मौरीले यति बेला वनबाट फूल ल्याएर मह उत्पादन गर्ने समय भएको छ । अचानक घारमै मौरी मर्न थालेपछि चिन्तित बनाएको छ । के कति कारणले मौरी मरिरहेका छन् भन्नेबारे अहिलेसम्म कुनै जानकारी प्राप्त भएको छैन”, किसान वीरबहादुर सिंहले भने । आफ्नो तीनवटा र किसान सिंहको एउटा घारका मौरी मरेका उनले जानकारी दिए ।
पहिचान नभएको रोगका कारण मौरी धमाधम मर्न थालेपछि यहाँका किसान चिन्तित बनेका छन् । मौरी घारभित्र र बाहिर मर्नुको कारण तथा रोग पत्ता लगाएर समाधान खोजीदिन किसानले सरोकार भएका निकायसँग आग्रह गरेका छन् ।
मह उत्पादनको समयमा मौरी मर्न थालेपछि उत्पादन घट्नुका साथै व्यवसायसमेत धराप हुने भन्दै किसान निराश भएका हुन् । थायामा मात्रै नभएर यो समस्या जिल्लाभरका मौरी पालन व्यवसायमा देखिएको भन्दै सिंहले रोग पत्ता लगाइदिन सम्बन्धित निकायसँग आग्रह गरे । मौरी जोगाउन र मौरी पालक किसानको हौसला बढाउन तीनै तहका सरकारले चासो दिनुपर्नेमा उनले जोड दिए ।
मौरी पालन गर्ने घट्दै जानु, जंगलमा डढेलो फैलिनु, गुणस्तरीय रानी उत्पादन नहुनु, विषादीको प्रयोग बढ्नु, समयानुकूल घारमा सुधार नहुनुलगायत कारणले यस्ता समस्या देखिएको हुनसक्ने पशु अस्पताल तथा पशु सेवा कार्यालयका प्रमुख नवीन पौडेलले बताए ।
एक साताअघि मौरीमा अज्ञात रोग देखिएको किसानले जानकारी गराएका जनाउँदै उनले जानकारी पाउनासाथ रोगको पत्ता लगाउन गाउँमा कर्मचारी खटिएका बताए । हालसम्म रोग पत्ता लागिनसकेकाले विज्ञ टोली परिचालन गरिने उनले उल्लेख गरे ।
हुम्लामा एक माना महको रु. एक हजार २०० पर्दछ । यहाँका अधिकांश किसानले मौरी व्यवसायमार्फ परिवारको खर्च व्यवस्थापन गर्दै आएका छन् । पछिल्लो समय मौरी मर्न थालेपछि कसरी खर्च जुटाउने भन्ने चिन्ता लाग्न थालेको किसान बताउँछन् ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे