२०८२ बैशाख २७, शनिबार
सदरमुकाम गमगढी हुँदै बालै र माथि बालै जोड्ने सडकको ट्रयाक खुलेसँगै लिउडी हुँदै माथि बालै गाउँसम्म गाडी पुगेको हो । वर्षौँदेखिको गाडी चढ्ने सपना पूरा भएको भन्दै स्थानीयहरूले खुसी व्यक्त गरेका छन् । स्थानीयवासीका अनुसार पहिले बिरामी, सुत्केरी वा तरकारी बोक्नका लागि डोको र पीठो प्रयोग गर्नुपर्ने बाध्यता अब हटेको छ ।
छायाँनाथ रारा नगरपालिकाको २० लाख रुपैयाँ लागतमा उपभोक्ता समितिमार्फत डोजर प्रयोग गरेर सडक निर्माण गरिएको हो । बिहीबार एक कार्यक्रमकाबीच नगरप्रमुख विष्णु कुमार भाम र उपप्रमुख ऐश्वर्य मल्लले सडकको संयुक्त रूपमा उद्घाटन गरेका थिए ।
सडक उद्घाटन कार्यक्रममा नगरप्रमुख भामले चुनावी वाचाअनुसार गाउँगाउँमा सडक र विद्युत् पु–याउने प्रतिबद्धताअनुसार कार्य भइरहेको बताए । उनका अनुसार नगरपालिका भित्रका ८७ गाउँमध्ये अधिकांशमा सडक पुगेको छ भने बाँकी रहेका कम्फा, तिर्प, सुम्ली, मुर्मा र सालिम गाउँमा पनि आफ्नो कार्यकालमै सडक पु–याउने लक्ष्य रहेको बताए ।
स्थानीय बलबहादुर भामले गाउँमा बढी मात्रामा उत्पादन हुने आलु र सिमीलाई अब सहज रूपमा बजारसम्म पुर्याउन सकिने बताए । ‘पहिले दुई घण्टा बोकेर गमगढी पु–याउनु पथ्र्यो, धेरैजसो कुहिन्थ्यो,’ उनले भने, ‘अब गाडी आएको छ, बजार पहुँच सजिलो हुनेछ, र युवाहरू खेतीमै आकर्षित हुनेछन् ।’
उपप्रमुख मल्लले गाडी नपुगेका कारण गाउँका बिरामी र सुत्केरी महिलालाई डोकोमा बोक्नुपर्ने बाध्यता हटेको बताउँदै अब गाउँमा एम्बुलेन्स र अन्य सवारीसाधन पुग्न सक्ने अवस्था बनेको बताइन् ।
सडक विस्तारसँगै माथि बालै गाउँमा विकासको नयाँ ढोका खुलेको स्थानीयवासीको विश्वास छ ।
ग्लोरियस मिडिया प्राइभेट लिमिटेड द्धारा संचालित
नवलपुर अनलाइन डट कम का लागि
कम्पनि दर्ता नं. ३०१९९५/०७९/०८०
सुचना तथा प्रसारण द.प्र.नं. ३७६५-२०७९/८०
प्रेस काउन्सिल सु.प्र.नं. ३७५४
गैंडाकोट, नवलपुर
९८४११८१७२६
संचालक: प्रकाश भण्डारी
सम्पादक: अनिता गैरे